काठमाडौं, २० जेठ।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आज विपक्षी दलको असहयोगका कारण २ बजेसम्मका लागि स्थगित गरिएको छ। संसद सचिवालयले बैठक स्थगनको सूचना सार्वजनिक गरेको हो।

सदन सञ्चालन सुनिश्चित गर्न सभामुख देवराज घिमिरे प्रमुख सचेतकहरूसँग छलफलमा जुटिरहेका छन्। तर, विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्ने अडानमै छन्।
उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप लगाउँदै आएका छन्। लेखकले राजीनामा नदिएसम्म संसद सञ्चालन हुन नदिने विपक्षी दलहरूको अडानका कारण आजको बैठक प्रभावित भएको हो।
अब बैठक तोकिएको २ बजे सुरू हुने सम्भावना रहेको भए पनि विपक्षी दलको अडान कायम रहेमा पुनः अन्योल सिर्जना हुनसक्ने देखिएको छ।



