© २०२३
गुल्मी, २० जेठ ।
गुल्मीमा मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत पश्चिमी क्षेत्रमा चार वटा पक्की पुल बनेसँगै त्यस क्षेत्रका जनतामा खुसी थपिएको छ । जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट र मालिका गाउँपालिका अन्तर्गत निर्माण गरिएका उक्त पक्की पुलले त्यस क्षेत्रमा नागरिकहरूलाई ठुलो राहत पुराएको छ । निर्माण सम्पन्न भएका चार पक्की पुलहरूमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चार वटा रहेका छन् ।
पुल अन्तर्गत पन्थ निर्माण सेवाद्वारा फूलबारी खोलाको पुल तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । त्यसै गरी सुनिल समिर निर्माण सेवाले हुलाके खोला पुल पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल सात करोड ४८ हजार लागतमा निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षा याममा त्यस क्षेत्रका मानिसहरूले ठुलो समस्या भोग्दै आइरहेका थिए । पुल नहुँदा खोलाबाट सवारी साधनहरू हिँडाउनु पर्ने बाध्यता थियो । यस्तो अवस्थामा कतिपय सवारी साधनहरू खोलामा फस्ने, बाढीले बगाउने र यात्रुहरूलाई आवत–जावत गर्न वर्षौँदेखि सास्ती व्यहोर्दैै आउनु परेको थियो ।
पुल निर्माण नहुँदा राजनीतिक नेतृत्वले समेत सधैँ आलोचना खेप्दै आएका थिए ।
अहिले चार वटा पक्की पुल एकै चोटी निर्माण सम्पन्न भएर सवारी साधनहरू सञ्चालन हुन थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै खुसी बनेको गुरुबाका स्थानीय दधिराम पन्थीले बताए । उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका पाँच स्थानीय तहसँगै वाग्लुङ्ग र प्युठानसम्मका नागरिकलाई यात्राको लागि सहज बनेको मालिका गाउँपालिका–६ का पूर्व वडाध्यक्ष शोभाखर गिरीले बताए । “पुल नहुँदा हामीहरूलाई वर्षादको समयमा पटक पटक दुख पाउनु परेको, अब खोलामा पक्की पुल बनेपछि विगतका दुखहरू पनि बिर्सने गरायो, कालो पत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रको मुहार नै परिवर्तन भएको छ,” गिरीले भने ।
तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फूलबारी, सिमलटारी लगायतका स्थानहरूमा व्यापारिक चहलपहल समेत बढ्न थालेको इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले बताए ।
जिल्लाको विकासमा पुल निर्माणको कामले नागरिकमा धेरै खुसी थपेको गुल्मी क्षेत्र नं.२ का सांसद गोकर्ण विष्टले बताएका छन् । उनले पुलको अभावमा विगतमा जनताले सास्ती भोग्नुपर्दा नेतृत्वले धेरै आलोचना खेप्नु परेको भन्दै एउटै समयमा चारवटा पुल निर्माण हुनुले जनताको मुहारमा खुसी थपिएको बताए । कोभिड सङ्क्रमणको समयमा तम्घास–सिमलटारी सडक खण्डमा पुल नहुँदा बाढीका कारण खोला तर्न नसकेपछि मालिका गाउँपालिका–७ का कृष्ण बहादुर थापाको उपचारको अभावमा समयमा अस्पतालसम्म पुग्न नसक्दा अकालमै ज्यान गुमाउनु परेको थियो ।