© २०२३
गुल्मी, २० जेठ ।
गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घ रोगी बिरामीहरूलाई मासिक रूपमा एक हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । पालिकाले मिर्गौला प्रत्यारोपण तथा डायलाईसिस गराइरहेका, गम्भीर मुटु रोगी (ओपन हर्ट सर्जरी) क्यान्सर र मेरुदण्डको पक्ष घातका बिरामीहरूका लागि उक्त जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यपालिका बैठकबाट मासिक रूपमा जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्नका लागि बिरामीहरूले सक्कल निवेदन सहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने जनाएको छ ।
उक्त सबै प्रक्रिया पुरा गरेपछि बिरामीको खातामा वार्षिक रूपमा उक्त भत्ता जम्मा हुने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताए । गाउँपालिका भित्र उक्त प्रकृतिका हाल ७५ बिरामीहरू रहेको पोख्रेलले जानकारी दिएका छन् । छत्रकोट गाउँपालिकाले विपन्न बिरामीहरूका लागि पनि बिरामीहरूलाई रोगको प्रकृति हेरेर दश हजार रुपैयाँदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।