© २०२३
दाङ, २० जेठ ।
दाङको घोराही उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा जिल्ला खोप समन्वय समिति घोराहीको समन्वयमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्यकर्मीले उत्साहका साथ काम गरेकाले बालबालिकाले खोप लगाउन पाउने मौलिक अधिकारको सुनिश्चितता गरिएको बताए । उनले स्वास्थ्य बिनाको समृद्धि सम्भव नभएको र पालिका भित्र नसर्ने वा प्राण घातक रोगका बिरामी कम हुँदै गएको बताए ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकाले पूर्ण खोप सुनिश्चितता गरे जस्तै दाङका अन्य पालिकाले सिको गर्नुपर्ने बताए ।
जनस्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले सबैको साथ सहयोगले पूर्ण खोप सुनिश्चितता भएको बताए । बालबालिकाले खोप पाउनु मौलिक हक हो । पालिकाको सकारात्मक सहयोगले मात्रै घोषणा गर्न सफल भएको हो, उनले भने, “कर्मचारीको सक्रियताले सफल भएको हो ।”
कार्यक्रममा वडा नम्बर १ का स्वास्थ्य शाखा प्रमुख बालाराम घर्ती, घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले खोपजन्य रोगबाट बच्नका लागि खोप अनिवार्य भएको बताइन् ।
जनस्वास्थ्य निरीक्षक बहरुलाल चौधरी लगायतले धारणा राखेका थिए । घोराही उपमहानगरपालिका भित्र २३ वटा स्वास्थ्य सस्था रहेका छन् ।