Butwal Today

विजयनगरमा विषालु घाँसको आशंका, ५ भैंसी र १ राँगाको मृत्यु

२० जेष्ठ २०८२, मंगलवार
अ+
अ-

चन्द्रौटा, २० जेठ ।

कपिलवस्तुमा एक्कासि ५ ओटा भैँसी र १ ओटा राँगा मरेका छन् । विजयनगर गाउँपालिका–५ नौरङ्गियामा मंगलबार बिरे अहिरको ब्याउने भैँसी र एउटा राँगा मरेका हुन् । अहिरका अनुसार चार ओटा भैँसी बिरामी अवस्थामा रहेका छन् ।

मंगलबार बिहान करिब ७ बजेतिर चरी घाँस चराउने क्रममा एकाएक भैँसी र राँगाको मृत्यु भएको उनले बताए । उनले भने – “घरदेखि करिब १ सय ५० मिटरको दुरीमा खेतमा लगाइएको चरी घाँस खाएपछि १ घण्टाभित्रै भैँसी र राँगाको ज्यान गएको हो ।”

यता गाउँपालिकाका पशु विकास शाखाका प्रमुख प्रहलाद ठाकुरले भैँसी, राँगा मरेको कारण अझै खुल्न नसकेको बताउँछन् । उनका अनुसार चरी घाँस विषाक्त युक्त भएका कारणले पनि भैँसी र राँगाको मृत्यु भएको हुन सक्छ । बिरामी भैँसीहरूको तत्कालै औषधी उपचार गरेको पशु शाखाले जनाएको छ । पोस्टमार्टमको तयारी भइरहेको बताउँदै रिपोर्ट आएपछि मात्र मृत्युको कारण भन्न सकिने प्रमुख ठाकुरको भनाई छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।