© २०२३
काठमाण्डौ, २० जेठ । कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङ काठमाडौंमा भब्य स्वागत गरिएको छ । एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरिएको हो ।
एरिकाले आइतबार राति मोरक्कोको राजधानी रावतमा प्रिमियर लिगमा महिला ६८ केजीमाथि तौल समूहमा उक्त सफलता पाएकी हुन् । कांस्य पदकको प्रतिस्पर्धामा एरिकाले फ्रान्सेली खेलाडी क्लेमेन्स पिईलाई ६–२ अंकले पराजित गरेकी थिइन् । स्पेनिस मारिया गार्सिया टोरेससँग पराजित भएपछि उनी कांस्य भिडन्तमा पुगेकी हुन् । मारियासँग ५–५ अंकको बराबरी खेलेपछि सेन्सुका आधारमा एरिका पराजित भएकी थिइन् । त्यसपछि उनी कांस्यको भिडन्तमा पुगेकी थिइन् ।
नेपाली करातेका लागि ऐतिहासिक उपलब्धि हासिल गर्दै आएकी एरिकाले विश्वका शीर्ष खेलाडीले मात्र प्रिमियर लिगको पहिलो सहभागितामै पदक जितेकी हुन् ।
समूह चरणमा एरिका पोल ६ मा परेकी थिइन् । टर्की, इटाली र साइप्रसको खेलाडी रहेको पोलबाट शीर्षस्थानमा रहँदै अगाडि बढेकी थिइन् । नकआउट चरणमा एरिकाले इजिप्टकी महगुब हादीलाई ८–२ ले पराजित गरी सेमिफाइनल पुगेकी थिए, जहाँ उनी स्पेनकी मारियासँग सेन्सुमा हारेकी थिइन् ।