© २०२३
समाज एउटा साझा अस्तित्व हो, जसमा व्यक्तिगत कर्तव्य र सामूहिक उत्तरदायित्वले गहिरो सन्तुलन बनाउने गर्दछ । जबसम्म व्यक्ति आफ्नो भूमिका प्रति सजग रहन्छ र त्यसको परिपूर्ति कार्यदक्षता साथ गर्छ, तबसम्म कुनै पनि संस्था, संगठन वा समुदायले सुचारु गति पाउँछ । तर जब काम गर्नेभन्दा बढी भूमिका देखाउने, जिम्मेवारी लिनु भन्दा बढी प्रतिष्ठाको खोजी गर्ने र योगदान भन्दा बढी उपस्थिति देखाउने प्रवृत्ति हावी हुन थाल्छ, तब त्यो समाजमा नकारात्मक विसंगति जन्मिन्छ । आजको परिवेशमा हामी यस्तै प्रवृत्तिको चपेटामा परिरहेका छौं– जहाँ काम नगर्ने तर भूमिका खोज्ने मानसिकताले शीर उठाउँदैछ ।
प्रत्येक मानवमा कुनै न कुनै रूपमा “महत्व पाउने” चाहना हुन्छ । सामाजिक मनोविज्ञानले देखाउँछ—जब व्यक्ति कुनै समाज, संस्था वा समूहभित्र हुन्छ, ऊ त्यहाँ “दृष्टिगोचर” भूमिका खोज्छ । यो भूमिका कहिलेकाहीँ उसले गरेका कामबाट आउँछ, तर धेरैजसो केवल “आफूलाई देखाउन” खोज्ने प्रवृत्तिबाट उत्पन्न हुन्छ । जब काम नगरीकनै ऊ त्यस भूमिकामा पुग्न चाहन्छ, त्यो “आडम्बरिक सक्रियता” मा परिणत हुन्छ । यस्तो प्रवृत्तिको मान्छे अरूको काममा टिप्पणी गर्न चाहन्छ, योजना बनाउने नाममा बैठक राख्छ, संवाद चलाउने नाटक गर्छ, तर मूल कामको जिम्मेवारीमा कहिल्यै सामेल हुँदैन ।
काम नगर्ने मानिसले भूमिका खोज्नु केवल व्यक्तिगत कमजोरी होइन, त्यो सामूहिक चेतनाको पतन हो र घातक रोग पनि । यस्तो प्रवृत्तिले संस्थाको विश्वास मार्दछ, नेतृत्वको मूल्य घटाउँछ, अनि श्रमशीलताको अपमान गर्दछ । हामीले बनाएको सामाजिक ढाँचा यस्तो बनिसकेको छ, जहाँ काम गर्नु भन्दा “कसरी देखिने” भन्ने ठूलो कुरा भएको छ । केही व्यक्तिहरू संस्था वा समूहमा प्रवेश गर्ने बित्तिकै “म के पद पाउँछु ?” भन्ने सोच राख्दछन्, “म के योगदान गर्न सक्छु?” भन्ने होइन । उनीहरूका लागि प्रतिष्ठा जिम्मेवारी होइन, प्रदर्शन हो ।
अधिकांश विद्यालयहरू, सरकारी कार्यालयहरू, राजनीतिक दलहरू, सामाजिक संघसंस्थाहरूमा यस्तो प्रवृत्तिको मौन वर्चस्व देख्न सकिन्छ । शिक्षकहरूले पढाउँदैनन्, तर पदीय जिम्मेवारीको लहरमा अगाडि छन् । राजनीतिक नेताहरू योजनाको विषयमा जान्दैनन्, तर निर्णय गर्ने मञ्चमा अगाडि उभिन्छन् । सरकारी कर्मचारीहरूले फाइल हेर्दैनन्, तर बैठकमा टिप्पणी गर्न अग्रसर छन् । यस्ता प्रवृत्तिले संस्थालाई चालु त राख्छ, तर गतिहीन बनाउँछ । देखावटी व्यस्तता वास्तविक उत्पादन शून्यता हो ।
यस्तो प्रवृत्तिको मूल जरा हाम्रो चेतना र संस्कारमै गाडिएको छ । बाल्यकालदेखि नै हामीलाई श्रमको सम्मान भन्दा उपाधिको महत्व सिकाइन्छ । हामीलाई भनिन्छ– “पढेपछि अफिसर बन्नु”, “बडो मान्छे बन्नु”, “नेता बन्नु”, “अध्यक्ष बन्नु”, तर कहिल्यै भनिँदैन– “सच्चा कामदार बन्नु”, “ईमानदार सेवा दिनु”, “श्रमप्रति गर्व गर्नु ।” संस्कारै यस्तो हुँदा, स्वभाव पनि त्यही बन्छ । हामी परिणाम भन्दा पनि उपस्थिति र प्रतिष्ठामा रमाउन थाल्छौं । जबसम्म श्रमलाई ‘हातको काम’ र नेतृत्वलाई ‘कागजी काम’ मात्र ठानिन्छ, तबसम्म कामभन्दा भूमिका खोज्ने प्रवृत्ति हट्दैन ।
समाजमा भूमिका खोज्ने मानिसहरू प्रायः दुई किसिमका हुन्छन् । पहिलो, ती जो आफैं असक्षमता वा अल्छीपनका कारण काम गर्न सक्दैनन्, तर आफ्नो उपस्थितिबाट सबैतिर ध्यान केन्द्रित गर्न चाहन्छन् । दोस्रो, ती जो केही समय काम गरेर अब ‘म विश्रामको अधिकारी हुँ’ भन्ने घमण्डमा बाँचिरहेका हुन्छन् । पहिलो वर्ग झुटको अभिनयमा रमाउँछ, दोस्रो वर्ग पुरानो योगदानलाई बैंकझैं भुक्तान गर्दै हिँड्छ । दुबै वर्गले काम होइन, केवल हैसियत चाहन्छन् । उनीहरूका लागि भूमिका जनसेवा होइन, आत्मप्रशंसा हो ।
वास्तवमा, कुनै पनि पद वा भूमिका सजीव तब मात्र हुन्छ जब त्यसमा कर्मशीलता मिसिएको हुन्छ । कर्म नभएको भूमिका केवल साजसज्जा हो, जुन बाहिरबाट सुन्दर देखिए पनि भित्रबाट खोक्रो हुन्छ । नेतृत्व केवल उपस्थिति होइन, त्यो आत्मबल र श्रमको संयोजन हो । तर आजको समयमा, खासगरी सामूहिक संस्थाहरूमा ‘कसको कति पहुँच छ’, ‘कसको कित्ता बलियो छ’, त्यसकै आधारमा भूमिका बाँडिन्छ । काम गर्नेको ठाउँ कुना हुन्छ, बोल्नेको मञ्चमा स्थान हुन्छ । यस्तो वातावरणले काम गर्नेको मनोबल कमजोर बन्ने सम्भावना अधिक रहन्छ ।
‘काम नगर्ने तर भूमिका खोज्ने’ प्रवृत्तिले केवल संस्था नै होइन, सम्पूर्ण राष्ट्रको विकासमा पनि अवरोध सिर्जना गर्छ । जब निर्णय गर्ने ठाउँमा गैरजिम्मेवारहरू पुग्छन्, तब गलत नीतिहरू लागू हुन्छन् । जब संवादको नेतृत्व विज्ञताहीन व्यक्तिले गर्छ, तब दिग्भ्रम फैलिन्छ । जब कार्यान्वयनको जिम्मा देखावटी नेतामा हुन्छ, तब प्रगतिको गति थला पर्छ । यस्तो अवस्थामा समाजको अगाडि यथार्थको झुटो पर्दा टाँसिन्छ, जसले अन्ततः सम्पूर्ण व्यवस्थालाई झुट र देखावटीपनको चक्रमा घुमाइरहन्छ ।
यो समस्या केवल बाह्य परिवर्तनले समाधान हुँदैन । यसको समाधान चेतनाको स्तरमा गर्नुपर्छ । प्रत्येक व्यक्तिले आफूलाई प्रश्न गर्नु आवश्यक छ– “म किन भूमिका खोजिरहेको छु?” “मैले त्यो भूमिका योग्य छु कि छैन ?” “के म काम गर्ने आत्मबल राख्दछु ?” जब व्यक्तिमा आत्मपरीक्षणको क्षमता आउँछ, तब ऊ भूमिका खोज्नु भन्दा जिम्मेवारी बहन गर्न तयार हुन्छ । तब मात्रै संस्था बलियो हुन्छ, राष्ट्र समृद्ध हुन्छ, र समाज स्वाभिमानी बन्न पुग्दछ ।