© २०२३
कपिलवस्तु, १९ जेठ ।
कपिलवस्तुको तौलिहवामा सम्पन्न आठौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा जेठ ३ गतेदेखि गते सुरु भएको प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १२ लाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर २ ले उपाधि जितेको हो । जेठ ३ गते देखी ८ गते सम्म निर्धारित प्रतियोगिता वर्षाका कारण अवरुद्ध भएर लम्बिएको थियो । प्रतियोगिताको फाइनलमा टस जितेर पहिले ब्याटिड्ड गरेको वडा नम्बर १२ ले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय १ रनको योगफल तयार पारेको थियो । वडा नम्बर १२ का लागि ब्याटिगंका क्रममा १२ का आर्यन मिश्राले ३४ रन बनाएका थिए । त्यसै गरि वडा नम्बर २ का सरफुद्दिन गद्दीले ४ विकेट र आकाश यादवले ३ विकेट लिएका थिए ।
१ सय २ रनको विजय लक्ष्य पाएको वडा नम्बर २ ले १२ ओभर ४ बलमा तीन विकेटको क्षतिमा १ सय ३ रन जोड्दै उपाधि हात पारेको हो । वडा नम्बर १२ का पवन गुप्ताले १८ बलमा ३६ रन र शिव कुमार मौर्यले २३ बलमा ३३ रन जोड्दै वडा नम्बर २ लाई जिताएका थिए । बलिगं तर्फ वडा नम्बर १२ का इरफान अलीले २ विकेट लिए । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर २ का आकाश यादव भएका थिए । प्रतियोगितामा पहिलो भएको वडा नम्बर २ लाई नगद रु ६० हजार, शिल्ड, मेडल र प्रमाणपत्र सहित र उपविजेता वडा नम्बर १२ लाई नगद रु ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । नगर प्रमुख सुदिप पौडेल, सङ्घीय सांसद तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्य, प्रदेशसभा सांसद सुधाकर पाण्डेय, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, ५ का अध्यक्ष दिरेप कुमार चौधरी र वडा नम्बर १२ का अध्यक्ष ईन्सान अली धुनिया, शिक्षा शाखा प्रमुख युवराज भुसाल लगायतले विजेतालाई शिल्ड र पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
प्रतियोगितामा म्यान अफ द म्याच भएका वडा नम्बर १२ का विजय कुमार उपाध्यायलाई नगद ५ हजार, बेष्ट ब्याट्सम्यान वडा नम्बर १२ कै रमजान अली धुनिया र बेष्ट बलर वडा नम्बर १२ कै जीवन मौर्यलाई नगद ३-३ हजार सहित शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा बोल्दै सांसद तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले नगरमा आयोजित प्रतियोगिता सहितका अन्य खेलमा पनि खेलाडीले आफ्नो प्रतिभाको प्रदर्शन गरेर जिल्ला र देशकै नाम राख्न सक्नु पर्ने बताए । उनले क्रिकेट सहितका अन्य खेलमा समेत खेलाडीका लागिको सिर्जना र प्रतिभा प्रदर्शन आवश्यक रहेकोमा जोड दिए । आफूहरूले गरेको निर्वाचनको प्रतिबद्धता अनुसार खेल मैदानको स्तरोन्नतिका लागी सङ्घीय सांसद आचार्यले गत वर्ष १ करोड र यस वर्ष ३ करोड बजेट व्यवस्थापन गरेर खेललाई बढवा दिएको प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए ।
कपमा प्रतिभा देखाएका खेलाडीले अन्य स्थानमा समेत अवसर पाउनेमा विश्वस्त रहेको उनको भनाइ थियो । नगर र जिल्लाकै खेलाडीको प्रतिभा उजागर गराउनका लागी आवश्यक पर्ने खेल मैदान निर्माण व्यवस्थापनमा बजेट व्यवस्थापन गरेर सङ्घीय सांसद आचार्यले उदाहरणीय कार्य गरेको नगर प्रमुख सुदिप पौडेलले बताए । खेल र खेलाडीको लागी खेल मैदानको निर्माणले ठुलो अवसर सिर्जना गरेको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेको भनाई थियो । जेठ महिनामै आयोजना हुन थालेको पुर्व खेलाडीको स्मृति कपमा समेत युवा खेलाडीले प्रतिभा प्रदर्शनको अवसर पाउनेमा उनले विश्वास दिलाए ।