बर्दिया, १९ जेठ ।
दशौती थरुनी अहिले नागरिकताको अनुसार उमेरले ६७ वर्षकी पुगेकी छिन । उनको वास्तविक उमेर भने ७५ बर्ष पुगेको छ । उनी अहिले उमेर बढी भएको कारणले घरको काम गर्न सक्दैनन् । काम गर्न नसकेपछि सरकारले दिँदै आएको ज्येष्ठ नागरिक वृद्धा भत्ताको आशामा थिइन । तर सरकारले हालै वृद्ध भत्ता पाउने उमेरको सीमा ७० वर्ष गराए पछि उनको वृद्ध भत्ता पाउने सपना तुहिएको छ ।
दशौती थरुनी घरको केही काम गर्न नसके पनि वृद्धा भत्ता पाएपछि औषधी उपचारको खर्च यसैबाट चल्ने आशा थियो । तर सरकारले पहिला ७० वर्ष पुगेकालाई भत्ता दिएको थियो पछि फेरी घटाएर ६८ वर्ष गरायो र अहिले फेरी ७० गराएको छ । त्यसपछि अब यो जुनीमा वृद्ध भत्ता नपाउने भन्छिन् । उनको जन्म गुलरिया नगरपालिका कोठिया गाउँमा भएको थियो । उनका आमाबाबुले साबिक मैनापोखर गाउँ विकास समिति वडा नम्बर ३ गोविन्द थारु सँग विवाह गराई दिएका थिए ।
२०४१ सालमा नागरिकता बनाउन आएको टोलीबाट नागरिकता बनाएकी थिइन । उनी नागरिकता बनाउँदा अन्दाजी २७ वर्षको उमेर लेखिएको छ । उनको नागरिकता २०४१ साल कार्तिक महिनाको १७ गते बनेको थियो । उनले भनिन् नागरिकता बनाउन आएको टोलीले त्यति बेला धेरैको उमेर २७ वर्ष राखेर बनाई दिएको थियो । धेरै मानिसहरू म भन्दा उमेरले ठुला छन् तर नागरिकतामा उमेर कम भएको कारणले उनीहरू पनि वृद्धा भत्ता पाएका छैनन् ।
केही मानिसहरू म भन्दा साना थिए तर उनीहरूको उमेर धेरै राखेका थिए । जस कारण उनीहरू भत्ता पहिला देखि नै फाइरहेका छन् ।
दशौती शारीरिक हिसाबले उमेर बढेपछि अपाङ्ग भए जस्तै छिन । उनी सिधा उभिएर हिँड्न सक्दैनन् । उनले अपाङ्गता परिचय पत्रको लागि धेरै पटक बढैयाताल गाउँपालिका धाइन तर परिचय पत्र प्राप्त गर्न सकिनन् । उनलाई रातो कार्डको अपाङ्गता परिचय पत्र पाउने थियो तर पालिकाले उनलाई सेतो कार्ड दिएको छ । जसबाट उनी यातायात लगायत केही स्थानमा भाडाहरू छुट मात्र पाउने उनका श्रीमान् गोविन्द प्रसाद थारुले बताए । उनले भने, अब यिनीको भत्ता पाउने सपना अन्त्य भएको माने हुन्छ । उमेर सँगै शारीरिक रूपमा पनि अशक्त भैसकेको छिन कति दिन बाँच्लान् र ।
त्यस्तै चन्द्री थरुनी पनि उमेरले ६७ वर्ष पुगे सँगै शारीरिक रूपमा अशक्त भैसकैकी छिन । उनी करिब २० वर्ष पहिला देखि नै खुट्टा दुखाईको औषधी खाँदै आइरहेकी छिन । पहिलै देखि औषधीमा धेरै खर्च हुँदै आएकोले यो वर्ष भत्ता पाउँछु र छोराले बेहोर्दै आएको औषधी खर्च कम हुन्छ भन्ने आशामा बसेकी थिइन । तर सरकारले वृद्धा भत्ता उमेर हद फेरी बढाएपछि भत्ता पाउने आस टुटिएको बताइन । उनले भनिन्, मैले अपंगताको भत्ता पाउनको लागि बढैयाताल गाउँपालिकाको कार्यालय धेरै पटक धाएँ तर कुनै किसिमको सुनुवाइ भएन । म जन्मेको उमेर ७५ वर्ष भन्दा पनि धेरै भैसकेको छ तर नागरिकतामा २७ वर्षको उमेर देखाएर २०४१ साल कार्तिक महिनाको १७ गते नागरिकता प्राप्त गरे जस कारणले अहिले सम्म भत्ताको आशमै बसेको छु ।
म हिँडडुल गर्नको लागि लौरोको सहारा लिएर मात्र हिँड्न सक्छु तर त्यति देख्दा समेत मलाई गाउँपालिकाले आपांगताको परिचयपत्र दिएन । त्यस पछि उमेर पुग्न लागेपछि वृद्धा भत्ता पाउने आशा धेरै थियो तर सरकारले नियम परिवर्तन गर्दै गएपछि वृद्धा भत्ताको सहारा पनि अन्त्य भएको बताइन । हो यसरी सरकारले समय समयमा नियम परिवर्तन गर्दै गर्दा धेरै वृद्ध वृद्धाको आशा तुहिएको देखिन्छ । यिनी दुई जना उदाहरणका पात्र मात्र हुन यस्ता धेरैको सपना तुहिएको छ । सरकारले अरू नीति नियम परिवर्तन गरे पनि वृद्धा भत्ताको उमेर हद यथावत् राख्नु पर्ने जरुरी देखिन्छ । धेरै मानिसहरू आफ्ना आमाबाबुलाई यही भत्ताका कारण राम्रो स्याहार सुसार गरिरहेका देखिन्छन् । वृद्ध भत्ता सरकारले लागु नगर्दा धेरै आमाबाबुका छोराछोरीहरू वृद्ध आश्रममा राख्दै आएका थिए तर सरकारले वृद्धा भत्ताको वितरण गरे सँगै आश्रममा छोड्ने क्रियाकलाप पहिला भन्दा धेरै कम भएको छ ।