© २०२३
बुटवल, १९ जेष्ठ । सांस्कृतिक चेतना, भातृत्व भाव र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै कक्षपति समाज बुटवलले सिठी नखःको पावन अवसरमा कुल पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । शंकरनगर वनवाटिका स्थित कक्षपति भैरव मन्दिरमा आयोजना गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष डा.निरञ्जन लाल कक्षपतिले भाषा र संस्कृति बचाउने कुरामा विशेष जोड दिनुपर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष जबिन कक्षपतिले समाजका सदस्यहरूबीच भातृत्व भावनालाई अझ प्रगाढ बनाउने यस्ता कार्यक्रमहरू आवश्यक र फलदायी हुने कुरा बताए ।
कार्यक्रममा समाजका अध्यक्ष महत्वकुमार कक्षपतिले समाजबाट “सद्भाव, सामीप्यता र सहभागिता“को सिद्धान्तमा टेकेर आफ्नो गतिविधिहरू सञ्चालन गर्दै आएको बताए । कुल पूजाजस्ता परम्परागत अभ्यासहरूले समुदायमा संस्कार, पहिचान र आत्मीयता जीवन्त राख्न सघाउँछन् भन्ने उदाहरण यस कार्यक्रमले दिएको छ । ले हालै बुटवल गौशालामा खाद्यान्न वितरण तथा २०८२ सालको भित्तेपात्रो प्रकाशन जस्ता सामाजिक कार्यहरू सम्पन्न गरेको जानकारी दिए । कल्याणकारी कोषमार्फत समाजले निरन्तर सामाजिक सेवामा लगानी गर्दै आएको र बाँकी आम्दानी अक्षय कोषमा राखिएको उनले स्पष्ट पारे ।
कार्यक्रमको एक विशेष पक्षस्वरूप “कक्षपति युवा समाज“ को घोषणा गरिएको थियो । यस कार्यक्रमका संयोजक दिनेश कक्षपतिले युवा पुस्तालाई समाजप्रतिको जिम्मेवारी, धर्म–संस्कृति र ऐक्यबद्धतामा जोड दिनु आवश्यक भएकोले यस संरचना निर्माण गरिएको बताए । साथै, उनले विगत एक दशकको अवधिमा सम्पन्न प्रमुख कार्यक्रमहरूको लेखाजोखा र भावी योजनाबारे संक्षिप्त प्रतिवेदन पनि प्रस्तुत गरे ।
गुल्मी, प्युठान, अर्घाखाँची, चितवन, कपिलवस्तु र बुटवल क्षेत्रमा छरिएर बसोबास गरिरहनु भएका २८ घरधुरीका कक्षपति दाजुभाइहरूको करिब ५० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा आपसी भेटघाट, मेलमिलाप र संस्कारप्रतिको जिम्मेवारी दर्शाएको सचिव रविन्द्र कक्षपतिले बताए ।