© २०२३
चन्द्राैटा, १९ जेठ ।
महिलामा देखिने पाठेघर खस्ने समस्या समाधान गर्न बस्ती-बस्तीमै पुगेर चेकजाँच सुरु गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले आइतबारबाट चेकजाँच सुरु गरेको हो । यो विशेष स्वास्थ्य शिविर नगरपालिकाका सबै वडामा पाँच दिनसम्म चरणबद्ध रूपमा सञ्चालन गरिनेछ ।
“महिलाका गोप्य स्वास्थ्य समस्यालाई खुलेर भन्न नसक्ने प्रवृत्तिलाई तोड्न यस्ता शिविर आवश्यक छन्,” शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले भनिन् । पाठेघर खस्ने समस्या धेरै महिलामा देखिन्छ, तर लज्जा र जानकारीको अभावले उनीहरू बोल्न सक्दैनन्, त्यसैले हामी आफैँ बस्तीमा पुगेर समस्या बुझ्ने र समाधान दिने प्रयासमा छौँ रहेको उनको भनाइ छ ।
शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग गरेको छ भने सम्पूर्ण उपचार शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क प्रदान गरिदैँ छ । पाठेघर समस्या अनुसार औषधि, रिङ राख्ने तथा शल्यक्रिया सेवा समेत उपलब्ध गराइएको छ । शिव गढी स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ३० जनाले स्वास्थ्य जाँच गराउँदा ४ जनामा पाठेघर सम्बन्धी समस्या देखिएको स्वास्थ्य चौकी प्रमुख वीरेन्द्र मिश्रले जानकारी दिए ।
चिकित्सक, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको टोलीले पाठेघरका समस्या भएका महिलाहरूको पहिचान गरी उपचारमा सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ । शिवपुर स्वास्थ्य चौकीबाट सुरु भएको शिविरमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ ।