काठमाडौँ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्किएकी छन्। जेठ १० गतेदेखि सुरु भएको भ्रमणको क्रममा उनले चीनका उपराष्ट्रपति हान चेङ, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसहित उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गरिन्। भ्रमण टोलीमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा सरकारका मन्त्रीहरू पनि सहभागी थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार भ्रमण अत्यन्त सफल रह्यो। मन्त्री भण्डारीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले एक अन्तर्राष्ट्रिय सभामा मुख्य वक्ताको रूपमा नेपालको तर्फबाट सम्बोधन गरिन् र चिनियाँ पक्षबाट पनि उनलाई उच्च सत्कार प्रदान गरिएको जानकारी दिए।
चीन भ्रमणले नेपाल–चीनबीचको पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। सांस्कृतिक आदान–प्रदान, आर्थिक सहकार्य, विगतमा भएका समझदारी र सम्झौता पुनर्ताजगी गर्दै तिनलाई कार्यान्वयनतर्फ लैजाने विषयमा चिनियाँ नेतृत्वसँग गम्भीर छलफल भएको मन्त्री भण्डारीले स्पष्ट पारे। यस भ्रमणले दुई देशबीचको आपसी समझदारी र सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।



