Butwal Today

बजेट घोषणापछि सेयर बजारमा १.६० अंकको वृद्धि

१९ जेष्ठ २०८२, सोमबार
अ+
अ-

 काठमाडौं ।

बजेट घोषणा भएपछिको सेयर बजारमा सकारात्मक असर देखिएको छ। नेप्से परिसूचक १.६० अंकले वृद्धि भई २६९४ अंकमा पुगेको छ भने कारोबार रकम पनि बढेर ९ अर्ब २२ करोड पुगेको छ, जुन अघिल्लो दिनको ८ अर्ब ५८ करोडभन्दा बढी हो।

आज कुल २४८ कम्पनीको मूल्यमा उतारचढाव देखिएको छ जहाँ ११५ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ। दुई प्रमुख सेक्टर—होटल तथा पर्यटन र लगानी—मा उल्लेखनीय वृद्धि देखिएको छ। होटल तथा पर्यटन क्षेत्र २.३९ प्रतिशतले वृद्धि भए पनि लगानी क्षेत्रले २.२८ प्रतिशतको वृद्धिदेखाएको छ। बजेटले होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने व्यवस्था गरेकाले यसले बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन्। साथै, लगानी क्षेत्रमा सूचीकृत कम्पनीहरू र संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकताका उद्योगहरूमा सहजीकरण गर्ने बजेटको प्रावधानले पनि लगानीकर्ताको उत्साह बढाएको छ।

अन्य क्षेत्रहरूको कुरा गर्दा विकास बैंक ०.२९, फाइनान्स ०.१८, जीवन बीमा ०.२३ र अन्य ०.३६ प्रतिशतले बढेका छन्। तर बैंकिङ ०.५९, हाइड्रोपावर ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.१६ तथा व्यापार ०.३५ प्रतिशतले घटेका छन्।

आज विशेष रुपमा ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीका शेयर मूल्य १० प्रतिशतले बढेका छन्। साथै सप्तकोशी विकास बैंक (८.३१%), न्यादी हाइड्रोपावर (७.२७%), र कर्पोरेट डेभलपमेन्ट बैंक (६.३५%) मा पनि राम्रो वृद्धी देखिएको छ। अर्कोतर्फ भूगोल इनर्जीको मूल्य ६.४५ प्रतिशतले घटेको छ भने बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तका शेयर मूल्य पनि क्रमशः ३.२० र ३.०४ प्रतिशतले घटेका छन्।

आज बढी कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल र बुटवल पावर अग्रस्थानमा छन्। बजारमा देखिएको यो सकारात्मक प्रवृत्ति आगामी दिनहरूमा पनि निरन्तर रहने अपेक्षा गरिएको छ।