© २०२३
काठमाडौँ ।
भारतमा फेरि एकपटक कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्न थालेको छ। पछिल्ला दुई दिनमा मात्रै २१ जनाको मृत्यु भएपछि स्थिति गम्भीर बन्दै गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिबार बेंगलुरुमा ६३ वर्षीय पुरुष र दिल्लीमा ६० वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ। योसँगै जनवरीदेखि हालसम्म कोरोना संक्रमणका कारण भारतमा २८ जनाको ज्यान गइसकेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ। सबैभन्दा धेरै संक्रमित केरलामा छन्, जहाँ १ हजार ४ सयभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ। महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ जना संक्रमित रहेका छन्। पछिल्ला ४८ घण्टामा मात्रै हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्, जसले संक्रमण फैलन थालेको स्पष्ट संकेत दिएको छ।
स्थिति बिग्रँदै गएपछि कर्नाटक सरकारले सूचना जारी गर्दै भिडभाड हुने स्थानमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, शारीरिक दूरी कायम राख्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन सुझाव दिइएको छ।
भारतसँग खुला सिमाना भएकाले संक्रमणको यो लहर नेपालमा पनि जोखिमपूर्ण हुनसक्ने आँकलन गरिएको छ। यस्तो अवस्थामा सतर्कता अपनाउनु र आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्नु दुवै मुलुकका लागि अत्यन्त जरुरी देखिन्छ।