© 2026
बुटवल, जेठ १८ । रुपन्देही लन टेनिस संघ बुटवलका कोच विष्णु नेपालीले अन्तराष्ट्रिय प्रशिक्षणको अवसर पाएका छन । टेनिस एशोसियसन अफ माल्दिभ्सले प्रशिक्षक नेपालीलाई उमेर समुहका खेलाडी प्रशिक्षणमा २ वर्षका लागि अनुबन्ध गरेको हो । उनी अब दुई वर्षसम्म माल्दिभ्समा लनटेनिस खेलाडीहरुलाई प्रशिक्षण दिनेछन ।
पोखरा स्थाई घर भएका नेपाली बल ब्वाई हुँदै लनटेनिस खेलमा प्रवेश गरेका हुन । विभिन्न उमेर समुहका खेलमा सहभागी भएका उनि दुई वर्षअघि रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीको अगुवाईमा रुपन्देहीमा प्रशिक्षण गराउदै आएका थिए ।
यसैबिच आईतबार लनटेनिस संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, सल्लाहकार अर्जुन गुरुङ, महासेनानी मच्छिन्द्र थापा, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, सचिव स्वस्तिक श्रेष्ठ, लनटेनिस प्रशिक्षक विकास खड्काले प्रशिक्षक नेपालीलाई खादा ओढाएर बिदाई गर्दै वैदेशिक बसाई सुखद र सफलताको कामना गरे ।
माल्दिभ्सको जाईफारुमा ३ महिनासम्म हेड कोचसंग सिक्ने छन । त्यसपछि उनले विभिन्न टापूमा गई उमेर समुहका खेलाडीहरुलाई प्रशिक्षण दिने छन । यसअघि समेत पोखराबाट एक दर्जन बढी विदेशमा कोचिङमा गएका छन ।