© २०२३
बुटवल, १६ जेठ ।
बिहानै पहिरो, दिउँसै पहिरो, साँझै पहिरो अनि राति पनि पहिरो । कहिलेकाहीं त सपनामा पनि पहिरो । बुटवल–३ का वडा सदस्य अमृत खड्काका लागि विपनामा मात्रै हैन सपनामा पनि निरन्तर आइरहन्छ ज्योतिनगरको पहिरो । चुरे क्षेत्रमा भू–स्खलनका कारण बुटवलकै लागि अभिषाप बनेको ज्योतिनगरको पहिरोले वर्सेनि करोडौंको धनजनको क्षति गरेको छ । यसको नियन्त्रण र रोकथामका लागि करोडौं रकम खर्च भैरहेको छ ।
खासगरी ज्योतिनगर, मिलनटोल र पासाङ्ग टोलका बासिन्दाको लागि बिगतदेखि नै अभिषाप बनेको यो पहिरोको नियन्त्रण र रोकथामका लागि सरकारी गैरसरकारी क्षेत्रबाट ठुलो प्रयास भैरहेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट भैरहेका यी सबै प्रयासहरुको रेखदेख गर्ने साझा प्रतिनिधिका रुपमा पहिरो अगाडि उभिइरहेको साहसी स्थानीय युवा हुन अमृत खड्का । स्थानीय वडाका जनप्रतिनिधि खड्का युवा समाजसेवी र विपत् व्यवस्थापनमा साहसी केटाको उपमा पाइसकेका व्यक्ति हुन् ।
दिनरात पहिरोकै चिन्ता लिने खड्का भन्छन्—“जब आकाशमा गड्याङ्गुडुङ्ग हुन्छ, मन झसङ्ग हुन्छ अनि ज्योतिनगर पहिरोमा आँखा जान्छ । हे भगवान पानी कत्रो पर्छ फेरि के हुन्छ, पहिरो जाला कि नजाला ? तारजाली गरेको छ यसले धान्ला कि नधान्ला ? मनमा अनेक शंका उपशंका निम्ताउछ ।” पहिरोतिर हेर्दै उनी भन्छन्—“उ त्यो डाँडाबाट पहिरो आउने हो ।” उनी मात्रै होइन जब आकाशमा गड्यागुडुङ्ग गर्छ, ज्योतिनगरका बासिन्दाको मन झसङ्ग हुन्छ । सबैका आँखा एकैचोटि डाँडातिर लाग्छन्, जहाँबाट हरेक वर्ष बाढी पहिरोसँगै बग्छन् तिनका आशा, भरोसा, रगत पसिना र कहिलेकाहीँ त ज्यान पनि ।
अमृतको जीवनको अर्को पाटो पनि छ । पछिल्लो समय उनी समाजलाई दुव्र्यसनमुक्त बनाउने अभियानमा पनि जुटेका छन् । बिगतमा साथीभाइको सँगतले कुलतमा फसेका उनी आफू कुलतको काल कोठरीबाट उम्केपछि लागुपदार्थ दुव्र्यसन जस्ता कुलतमा फसेका युवाहरुलाई परामर्श प्रदान गरी आफू जस्तै होनहार बन्न प्रेरित गर्छन् । विभिन्न विद्यालय र टोलटोलमा पुगेर लागुपदार्थ विरुद्धको सचेतना जगाउँछन् । उनी भन्छन्– “जीवनले धेरै कुरा सिकायो, राम्रो पनि सिकायो, नराम्रो पनि सिकायो, मर्न पनि सिकायो, बाँच्न पनि सिकायो, सिक्नु र सिकाउनु नै जीवनको सार्थकता हो भन्ने मेरो बुझाई छ ।”
तिनै स्थानीयका आशा र भरोसाको केन्द्र बन्न सफल भएका खड्काले नडराउने र पछि नहट्ने वडा प्रतिनिधिको परिचय बनाएका छन् । स्थानीय प्रकाश गुरुङ्ग भन्छन्–“कयौं वर्षदेखि उनी यो दृश्यका साक्षी छन् । उनी न डराउँछन्, न पछि हट्छन् । हरेक वर्ष वर्षायाममा पहिरोसँग लड्ने भिड्ने अठोट लिएर उकालो चढ्छन् अनि थाकेपछि ओरालो झर्छन् । पानी पर्न थालेपछि उनी रेनकोट लगाउँछन्, छाता टिप्छन्, हातमा हँसिया र काँधमा कोदालो बोकेर पहिरोतिर उकालो चढ्छन्, स्थानीयलाई साथमा लिएर जान्छन् । खड्का भन्छन्– “बाहिर अरुको अगाडि निडर देखिए पनि भित्रभित्र त साह्रै डर लाग्छ, तर डराएर भएन, डराएर त बस्न सकिँदैन, केही नगरे कसरी बँच्ने ? उनको आफैलाई गरेको प्रश्नसँगै आँखा भरिन्छ ।
जोखिममा बस्ती, चिन्तामा जनता देख्दा उनलाई लाग्छ मैले नगरे कसले गर्ने आज नगरे कैले गर्ने भन्ने लागेर ती स्थानीयको मुहारमा खुशी ल्याउँदा निकै रमाउने खड्का ज्योतिनगरका लागि एक अथक योद्धा पनि हुन् । वडा कार्यालयको कार्य विभाजनमा विपत् व्यवस्थापन र नियन्त्रणको जिम्मेवारी पाएका उनले वडामा बाढी, पहिरो नियन्त्रण र विपत् व्यवस्थापनको लागि कहिल्यै नथाक्ने हिरो भन्ने नाम पनि पाएका छन् । रातिमा लागेको वन डढेलो निभाउने क्रममा लडेर घाइते भएका खड्काले अहिले पनि एउटा हात माथि उठाउन सक्दैनन् । पटक पटक घाइते बने । तर उनको मन घाइते छैन । “केही गर्छु भन्ने मनमा हुटहुटी पलाइ रहन्छ”–उनी भन्छन् ।

ज्योतिनगर बुटवलको शिर हो भन्दा पनि हुन्छ । शिरमै पहिरो हुनु भौगोलिक, साँस्कृतिक, धार्मिक सबै हिसावले नराम्रो मानिन्छ । स्थानीय कृष्ण श्रेष्ठ भन्छन्—“बुटवलको ज्योतिनगरको पहिरो भनेर नेपालमै चर्चित बिनासकारी चुरेपहाड भु—स्खलन क्षेत्र संरक्षणका लागि अमृत खड्काको नेतृत्वमा युवाहरु दिनरात खटिएका हुन्छन् । त्यहाँका मिलन टोल, पासाङ्गटोल, सृजना टोल, बहुआश्रित टोल, बमघाट टोलयी सबै टोलहरू हरेक वर्ष पहिरोको जोखिममा पर्ने गर्दछन् ।”
जमिन चिप्लिन्छ, ढिस्को खस्छ, हिलोसँगैको ढुंगाको बाढी आउँछ, कतै घरै पुरिन्छ, कतै बाटो बन्द हुन्छ । स्थानीय बासिन्दाको भागाभाग हुन्छ । उनी भन्छन्–“वर्षा लागेपछि निद्रै हराउँछ । कहिले के हुन्छ भन्ने डरले बस्नै गाह्रो हुन्छ । सडक, नाली, घर सबै जोखिममा छन् । पहिरो रोक्न राखिएको तारजाली पनि वर्सेनि क्षतिग्रस्त हुन्छ ।” खड्का थप्छन्– “हामीले विपत् व्यवस्थापनका लागि केही युवाहरुको साथमा विभिन्न खालका विपत् व्यवस्थापन टिम, रेस्क्यू टिम, सूचना प्रवाह टिम, मेसिन सँगसगै जाने टिम तथा क्लवहरुको सहायतामा विपत् व्यवस्थापनका कामहरु पनि गर्दै आएका छौं ।”
पहिरो नियन्त्रका लागि वर्षायाममा पूर्व तयारीका लागि पहिरोमा २, घरहरुमा २ वटा सिसि क्यामेरा लगाएर पनि निगरानी गरिएको छ । जसको कन्ट्रोल उपमहानगरपालिका विपत् शाखाका इन्जिनियर योगेश चापागाइले गर्दै आएका छन् । २०५५ सालमा ठुलो पहिरो गएको र ५७ घर पूर्णरुपमा नै विस्थापित भएर स्थानीय सरकारले तामनगर र बर्दघाटको बाढीपीडित भन्ने स्थानमा स्तानान्तरण नै गरेको थियो । सरकारले लगत कट्टा नगर्दा फेरि फर्किएर उही ठाउँमा बस्न आएका समस्या पनि छन् यहाँ । त्यस्तै ०७८ सालमा मिलन पथ, चेतना पासाङ्ग टोल पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । कैयौघरमा खोल्सा नालीहरु भरिएर घरमा बाढी पसेको थियो । त्यसपछिका वर्षहरुमा पनि हरेक वर्ष पहिरो जाने गरेको छ ।
अमृत खड्का जस्ता नागरिकले आत्मबलमा लडिरहेको यो समस्या सधैं जस्तै दिगो समाधानको पर्खाइमा छ । स्थानीय सरकारको एक करोड, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट २० लाख र प्रदेश सरकारको ८५ लाख गरी बजेट परेको र काम पनि सम्पन्न भैसकेको छ तर त्यो पर्याप्त भने छैन ।
तारजाली लगाएर मात्र यो थामिँदैन । यहाँ त भूगर्भीय अध्ययन सहितको योजना चाहिन्छ, अमृत भन्छन्– “स्थानीय सरकारको बजेट, संघ र प्रदेश सरकारको प्राथमिकता भन्दा बाहिर परेको हुँदा यो ज्योतिनगरले मुहार फेर्न सकेको छैन । यी जोखिममा परेका बस्तीहरूको दिगो व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरी बहु–आयामिक योजना बनाइनुपर्छ ।

अमृत खड्का केवल काम गर्ने व्यक्ति होइनन्, उनी समाधान खोज्ने नेतृत्वकर्ता पनि हुन् । उनी भन्छन्–“आज पनि लागि परेको छु र भोलि पनि लागि पर्ने छु ।” जोखिम नियन्त्रण र रोकथामका लागि उनले आफ्नो टोलमा स्वयंसेवकहरूको समूह बनाएका छन् । जोखिम क्षेत्रमा खतरा देखेपछि स्थानीय नेताहरूसँग समन्वय गर्छन् । आपतकालीन अवस्थामा उद्धार र राहतमा पहिलेदेखि सक्रिय छन् । कहिले आगलागीका समस्या त कहिले पहिरोको समस्या हरेक वर्ष समस्यासँगै जुध्दै आएका छन् ज्योतिनगरबासीहरु । मिलनटोल, ज्योतिनगर, पासाङ्गटोल, सृजना टोल, बहुआश्रित टोल, बमघाट लगायतका क्षेत्र बढी जोखिममा छन् । सीमित श्रोत साधनले गर्दा निकै समस्या रहेको अमृतको भनाइ छ ।
तिनै तहका सरकारले समन्वय र सहकार्यका साथ दिगो रुपमा यो पहिरो व्यवस्थापन गर्न भूमिका खेल्नुपर्ने उनले बताए । पहिरो नियन्त्रण र रोकथामका लागि डिपिआर बनिसकेकाले पर्याप्त बजेट बिनियोजन गरी पहिरोको दिगो व्यवस्थापन गर्नुपर्ने माग बुटवलबासीको छ । पहिरो व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापाले स्थानीय समुदाय, बुटवल उपमहानगरपलिका, प्रदेश सरकार र संघीय सरकारको समन्वय र सहकार्यबाट मात्रै ज्योतिनगर पहिरोको समस्या समाधान हुने बताएका छन् ।