© २०२३
काठमाडौँ ।
सन् २०२५ को मिस वर्ल्डको ताज थाइल्यान्डकी सुन्दरी ओपल सुचाता चुआंगश्रीले जितेकी छन्। भारतको हैदराबादमा शनिबार बेलुका सम्पन्न अन्तिम समारोहमा ७२औं संस्करणको उपाधि ओपलको पोल्टामा परेको हो। अघिल्लो वर्षकी मिस वर्ल्ड क्रिस्टिना पिस्ज्कोभाले उनलाई ताज पहिर्याउँदै औपचारिक रूपमा विजेताको घोषणा गरिन्।
२१ वर्षीया ओपल अन्तर्राष्ट्रिय सम्बन्ध विषय अध्ययनरत छिन् र प्रतियोगिताको विभिन्न चरणमा आत्मविश्वास, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले उनलाई उत्कृष्ट सावित गर्यो। अन्तिम चार प्रतिस्पर्धीहरूमा एशियाबाट थाइल्यान्ड, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्यान्ड र अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मार्टिनिक पुगेका थिए।
इथियोपियाकी हैसेट देरेज दोस्रो स्थानमा रहिन् भने तेस्रो स्थान मार्टिनिककी आरेली योहाचिमले हासिल गरिन्। मे ७ मा सुरु भएको यो भव्य सौन्दर्य प्रतियोगिता मे ३१ मा अन्त्य भएको हो।
नेपालबाट सृच्छा प्रधानले प्रतियोगितामा सहभागिता जनाए पनि उनी क्वार्टरफाइनल अर्थात् अन्तिम ४० मा पुग्न असफल भइन्। यसपटकको मिस वर्ल्डमा नेपालसहित १०८ देशका प्रतियोगी सहभागी थिए, जसले विविधता र अन्तर्राष्ट्रिय सौन्दर्य मान्यताको उत्कृष्ट प्रदर्शन प्रस्तुत गरे।
ओपलको जितसँगै थाइल्यान्डले फेरि एकपटक विश्वसामु आफ्नो सांस्कृतिक सौन्दर्य र प्रतिभा प्रस्तुत गर्न सफल भएको छ।