© २०२३
डोटी ।
डोटीको केदार गाउँमा आइतबार बिहान भएको जिप दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने आठ जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाबाट दिपायलतर्फ जाँदै गरेको सुपप्र ०१००१ज १४६४ नम्बरको जिप केआईसिंह गाउँपालिका–५ स्थित केदार गाउँमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार, दुर्घटनामा ४२ वर्षीय मीन बमको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
जिपमा सवार अन्य आठ जना घाइते भएका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर, पाँचको मध्यम र दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरू अहिले शैलेश्वरी अस्पतालमा उपचाररत छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।