© २०२३
बुटवल, १८ जेठ ।
सरकारले विभिन्न कार्यमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सरकारी अड्डामा सेवाग्राहीहरुको भिड लाग्ने गरेको छ । सामाजिक सुरक्षा भत्ता, बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने लगायतका अन्य कामको लागि अनिवार्य बनाएपछि पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयहरूमा सेवाग्राहीहरू एकाबिहान देखि लाइन लागेर सेवा लिन बाध्य भएका हुन । सरकारी अड्डाहरूमा सेवा लिन लाग्ने लाइनले सरकारले जनतालाई दिने सेवाप्रति निराशा र खिल्ली उडाइरहेको छ । इलाका प्रशासन कार्यालय बुटवलमा पछिल्लो समय दैनिक ३ सय बढीलाई राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने अभिलेखीकरण गर्ने काम गदै आएको छ ।
सरकारबाट पाउने हरेक सेवा सुविधाहरूमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरे पनि सेवा दिने कुरामा ध्यान नदिँदा धेरै ज्येष्ठ नागरिक आमाबुवाहरू एकाबिहानै सरकारी कार्यालय अगाडी पालो कुर्न बाध्य भएका छन् । इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन बिहानै लाइन बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । बुटवलमा सेवाग्राहीको चाप धेरै भएकाले टोकन दिएर काम गर्नुपरेको उनको भनाइ छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो सेवा दिने कुरामा कुनै कमजोरी नगरिएको भन्दै प्रमुख अर्यालले भने –‘दैनिक ३ सय बढीले राष्ट्रिय परिचय पत्रको सेवा लिइरहनुभएको छ हामीले सक्दो सजिलो छिटो सेवा दिने कुरामा लागिरहेका छौ ।’ बिहान १० बजेदेखि साँझ ५ बजे सम्म ४ वटा युनिटले काम गरिरहेका छन् ।

प्रमुख अर्यालका अनुसार विगतमा २ वटा बाट मात्र फोटो खिचाउने काम भइरहेको थियो तर यसपालि माथि कुरा गरेर ४ बटा युनिट ठाउँहरूबाट सेवा दिने काम गरिरहेका बताए । बुटवलमा भिड हुनुको कारण अन्य जिल्लाका मानिसहरूको बसाई धेरै रहेकाले बेजिल्लाको समेत फोटो खिचाउने काम भएकाले केही असजिलो भएको उनको भनाई छ । हामीले नियमित गर्ने कामहरू जस्तै नागरिकता विद्युतीय पासपोर्ट नावालिका परिचय पत्र लक्षित वर्ग, प्रमाणित ठाडो उजुरी, बजार अनुगमन लगायतका कामहरू सहज रूपमा हुँदै आएको प्रमुखको भनाइ छ । इलाका प्रशासन कार्यालय बुटवलमा सेवा लिनेहरू गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, प्युठान, बागलुङको मानिसहरूको बुटवल क्षेत्रमा बसाई धेरै भएकाले सहज सेवा दिन केही कठिनाइ भइरहेको हो । स्थानीय सरकाले जनतालाई सेवा दिने कुरामा ध्यान दिन जरुरी देखिन्छ ।