© २०२३
चन्द्रौटा, १७ जेठ ।
“उपचार गर्न बुटवल, भैरहवा लगायत बाहिर जानुपर्ने बाध्यता हटेको छ । सामान्य औषधि उपचार गर्न समेत बाहिर जानु परेको थियो । स्थानीय स्तरमा आधारभूत अस्पतालको सेवा प्रवाह सुचारु भएपछि अन्यत्र जानु परेको छैन ।” स्थानीय दुर्गा गैरेले भनिन् । दमको पुरानो रोगले पीडित उनी केही समय अघिसम्म पाल्पासम्म उपचारका लागि धाउँथिन् । केही समयदेखि गैरे पाल्पाको एक अस्पतालमा निरन्तर डाक्टरको फ्लोअपमा रहेको उनी बताउँछिन् । बुटवल, भैरहवा हुँदै पाल्पाको एक अस्पतालमा उपचार गराइरहेकी उनी अहिले भने गाउँमै खुलेको विजयनगर आधारभूत अस्पतालमा नियमित जाँच गराउन जान्छिन् । ‘पहिले चन्द्रौटा, बुटवल, भैरहवा, उपचार गर्दा निको नभएपछि पाल्पामा उपचार थालेथेँ अब भने गाउँमै सुविधा भयो,’__ उनी भन्छिन् ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ६ बद्दौरकी ४५ बर्षीया दुर्गाले पछिल्लो एक महिनादेखि स्थानीय स्तरमा अस्पताल सञ्चालनमा आएपछि विजयनगर आधारभूत अस्पतालमा नै चेकजाँच गर्न थालेको उनले बताइन् । उनले थपिन्, “पहिले सानो समस्याको उपचार गर्न पनि गन्तव्य टाढा थियो, अहिले त यहीँ सेवा पाउँदा न पैसा खर्चिन्छ न त समय नै ।” स्थानीय स्तरमा स्वास्थ्य सेवा पाउँदा आम नागरिकहरूमा उत्साह समेत थपिएको छ ।
विजयनगर गाउँपालिका वडा नम्बर–१, हनुमाननगरका सेवाग्राही गुलाब थारुका अनुभव पनि उस्तै छ । उनी ग्रामीण भेगमा स्वास्थ्य सेवा पाउँदा उत्साहित हुँदै भने “पहिले हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकलाई अस्पताल भन्नासाथ बुटवल–भैरहवा पुग्नुपर्ने बाध्यता थियो ।” थारुले थपे, “अब त विशेषज्ञ चिकित्सकले सेवा दिने शिविर समेत सञ्चालन हुन थालेको छ ।” स्थानीय अस्पतालमा राम्रो सेवा पाउँदा समय, श्रम र खर्चमा बचत भएको भन्दै थारुले सरकारप्रति धन्यवाद व्यक्त गरे ।
अस्पतालले प्रभावकारी सेवा निरन्तर प्रदान गर्न उनले आग्रह समेत गरे । अस्पताल सुपरिन्टेण्डेन्ट डा. युवराज अधिकारीले प्रतिदिन सेवाग्राहीको चाप बढेको बताए । उनले भने__ “स्थानीयको स्वास्थ्यप्रति बढ्दो चासो र सहज सेवा पाउने वातावरणले गर्दा हरेक दिन सेवा लिन आउने नागरिकको सङ्ख्या बढ्दै गएको छ ।” अस्पतालमा अहिले दैनिक दर्जनौँ बिरामी आउने गरेको उनको भनाई छ । विशेषज्ञ डाक्टरको परामर्श, नियमित चेकजाँच, निःशुल्क औषधि वितरण, सुत्केरी सेवा लगायतका कार्यक्रमलाई व्यवस्थित बनाउँदै लगेका लैजाने डा. अधिकारीले बताए ।
“ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै अत्यावश्यक उपकरण र जनशक्ति थप्ने कामलाई हामी प्राथमिकतामा राखेका छौँ । यहाँको जनघनत्व अनुसारको स्वास्थ्य सेवा व्यवस्थापनसँगै प्रभावकारी सेवा प्रवाह बिस्तार गर्दै लैजाने हाम्रो उद्देश्य हो” उनी बताउँछन् ।
विजयनगर आधारभूत अस्पताल सञ्चालन गर्नु गाउँपालिकाको प्राथमिकतामध्येको एक रहेको अध्यक्ष गोपाल बहादुर थापाले बताए । गाउँका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु उनीहरूको अधिकार रहेको बताउँदै स्वास्थ्य पूर्वाधारमा लगानी गरेको उनले जिकिर गरे ।
अस्पतालको सेवा विस्तारका लागि गाउँपालिकाले आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद, भवन मर्मत तथा विशेषज्ञ डाक्टर ल्याउने जस्ता काममा निरन्तर पहल गरिरहेको समेत थापाको भनाइ छ ।“नागरिकको विश्वास बढ्दै गएको छ, सेवा लिन आउनेको सङ्ख्या बढ्दो छ, त्यसले देखाउँछ कि हामी सही दिशामा अघि बढिरहेका छौँ,” अध्यक्ष थापाले भने ।
भविष्यमा अस्पताललाई सामुदायिक स्तरको सघन सेवा केन्द्र बनाउँदै लैजाने लक्ष्य रहेको उनले उल्लेख गरे । “स्वास्थ्य, शिक्षा र पूर्वाधारमै जोड रहनेछ,” उनी भन्छन्, “हामी गाउँमै उत्कृष्ट सेवा दिने स्थानीय सरकारको उदाहरण बन्न चाहन्छौँ ।” विद्यालय, बजार र बस्ती नजिकै अस्पतालको सेवा सञ्चालनमा आउनुले गाउँमै स्वास्थ्यको सुरक्षा गर्ने वातावरण बनेको छ । स्वास्थ्य सेवा गाउँसम्म बिस्तार हुनु विकासको गतिलो उदाहरण समेत बनेको छ । अस्पताल गाउँको शान मात्र होइन, ग्रामीण जीवनशैलीमै आएको सकारात्मक परिवर्तन पनि हो ।