नवलपरासी पश्चिम्
लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री देवकरण प्रसाद कलाकारले अब काठको आयात रोक्नु पर्नेमा जोड दिएका छन् ।प्रदेश भरी लिलाम बिक्रि हुन नसकेर थन्किएर बसेका करोडौं मुल्यका काठ कुहिने अवस्थामा पुगेको भन्दै मन्त्री कलवारले काठ आयात रोक्नु पर्ने बताए।
बर्दघाट नगरपालिकास्थित दिव्यशान्ति इको पार्कमा निर्माण गरिएको टिकट घर, तारजाली र गेटको उद्घाटन समारोहमा बोल्दै मन्त्री कलवारले नेपाली काठलाई प्रोत्साहन गर्नु पर्ने बताएका हुन ।
“हाम्रो देशमा काठ प्रशस्त छ, तर पनि बिदेशबाट आयात भइरहेको छ। यो तुरुन्त रोक्नुपर्छ,” उनले भने, “५ लाख क्युफिट काठ लुम्बिनी प्रदेशमा रहेको छ, यसको उपयोग गर्न नागरिकले नागरिकताको प्रतिलिपि र रकम बुझाएपछि सहज रूपमा काठ पाउने वातावरण बनाउनुपर्छ।”
मन्त्री कलवारले लुम्बिनी प्रदेश सरकारबाट निर्माण हुने संरचनामा झ्याल तथा ढोका काठकै प्रयोग गराउने अभियान संचालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले इको पार्क वातावरणमैत्री विकासको राम्रो उदाहरण भएको उल्लेख गर्दै फलाम र सिमेन्टजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य संरचना काठबाटै निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । “राज्यले माथिबाट दिएको भन्दा पनि समुदायले माग गरेका क्षेत्रमा बजेट आएमा त्यसको उपलब्धि प्रभावकारी हुन्छ,”। उद्घाटन समारोहमा इको पार्क व्यवस्थापन समितिका अध्यक्ष गोपालसिंह राना मगरको अध्यक्षता रहेको थियो।