Butwal Today

पाल्पा बन्यो, पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्ला

१६ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

पाल्पा, १६ जेठ ।

पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । पाल्पा जिल्लाले तोकिएको सूचकाङ्क पूरा गर्दे २०७० सालदेखि निरन्तर पूर्ण खोप सुनिश्चितता भएको जिल्लाको रूपमा रहँदै आएको र त्यसलाई दिगोपना दिएकाले पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्ला घोषणा गरिएको हो ।

तानसेनमा आयोजित घोषणा सभामा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले जिल्ला खोप समन्वय समिति प्रमुख टंकनाथ खनाललाई पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको प्रमाणपत्र प्रदान गर्दै पाल्पालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले २०७० साल फागुन १३ गते नेपालमै पहिलो पटक पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको बताए । उनले लुम्बिनी प्रदेशमा लगातार दुई पटकसम्म प्रथम भएको बताए । स्वास्थ्यमा पाल्पा जिल्ला  अगाडी रहेको बताउँदै सरकारले नसर्ने रोग विरुद्धको स्क्रिनिङ्गमा लक्ष्य भन्दा बढी उपलब्धि हासिल गरेको भन्दै प्रशंसा व्यक्त गरे  । पाल्पाले १३ हजार २९६ जनाको स्क्रिनिङ्ग गरेर लक्ष्य भन्दा १०८ प्रतिशत उपलब्धि हासिल गरेको मन्त्री सारूले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले यो अभियानले स्वास्थ्यको प्रणाली सुधार, दिगो विकासमा योगदान, मातृ तथा शिशु स्वास्थ्यमा सहयोग पुग्ने बताए  । पाल्पा जिल्ला हरेक वर्ष दिगोपना सुनिश्चितता भएको जिल्लाको रूपमा रहँदै आएकोमा त्यसमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई  प्रशासक अर्यालले धन्यवाद दिए  ।

जिल्ला खोप समन्वय समितिले जिल्लामा सबै वार्डमा पुगि पूर्ण खोप लगाए नलगाएको अनुगमन र प्रमाणित गरेपछि मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रूपमा घोषणा भएको हो ।  जिल्लाका ८१ वटै वार्ड र १० वटै स्थानीय तहमा ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई पूर्ण खोप दिएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला भएको हो । १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना घोषणा गरिएको हो ।