© २०२३
दाङ, १६ जेठ ।
दाङमा अठारौं गणतन्त्र दिवसका अवसरमा सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक नित्यानन्द शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त गर्न महत्वपूर्ण योगदान दिएका शहीद तथा बेपत्ता व्यक्तिका परिवार र घाइते गरी ११ जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा शहीद तथा बेपत्ता परिवारका तर्फबाट नेत्रलाल पौडेल अभागीका परिवार, जनआन्दोलन २०६२–०६३ का प्रथम शहीद उमेश चन्द्र थापाका परिवार, नारायण पण्डितका परिवार, पूर्व प्रहरी पदम अधिकारीका परिवार, राप्ती गाउँपालिकाका श्रीनारायण चौधरीका परिवार, बंगलाचुली गाउँपालिकाका होताराम परियारका परिवार र पिमकुमारी गिरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसैगरी, घाइतेहरु तर्फ कृष्ण गिरी, सुष्मा शर्मा घिमिरे, मनोज चौधरी र सिपी शर्मालाई दोसल्ला ओढाएर गणतन्त्र दिवसका अवसरमा सम्मान गरिएको छ ।
सो अवसरमा, घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले गणतन्त्रमा मात्रै हरेक नागरिकको हक अधिकार स्थापित हुने बताए । मुलुकको हीतका पक्षमा गणतन्त्र पक्षधरहरु गम्भीरताका साथ लागि परेको भन्दै प्राप्त अधिकारको उच्चतम सदुपयोग गर्न राज्यका सबै निकायले भुमिका खेल्दै आएको बताए ।
उनले मुलुकमा गणतन्त्र स्थापनापछि नागरिकको हक अधिकार स्थापनासँगै पूर्वाधार विकास, सामाजिक न्याय, आर्थिक क्षेत्रको समृृद्धिकाका लागि प्रयास भईरहेको उल्लेख गर्दै आम नागरिकको चाहना र भावना सम्बोधन गर्न अब आर्थिक क्षेत्र र रोजगारको क्षेत्रमा विशेष ध्यान दिन जरुरी रहेको औँल्याए ।
उनले नागरिकका आशा, अपेक्षा र गुनासो सम्बोधन गर्न तीन तहका सरकारले काम गरिरहेको हुँदा गणतन्त्र सबै अटाउन सक्ने उन्तत व्यवस्था रहेको बताए ।
अब गणतन्त्रको संस्थागत विकासका लागि प्रतिवद्ध रहँदै यसको रक्षामा पनि जुट्न र सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रकी शुष्मा शर्मा घिमिरे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य लगायतले संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
वक्ताहरुले जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै दिवसलाई लोकतन्त्रको आधरका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक रहेको बताएका थिए ।
लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा सबैले हेर्न सक्नुपर्ने उनीहरुले बताएका छन् ।
लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवद्र्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व र कार्यभार रहेको वक्ताहरुको जोड थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले गणतन्त्र दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै, लोकतन्त्रको सुदृढीकरणमा सबै नागरिकको भूमिकाको आवश्यकता औंल्याएका थिए । उनले संविधानको मर्मअनुसार समावेशी र समृद्ध समाज निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
२०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ ।