© २०२३
बुटवल, १६ जेठ ।
तिलोत्तमा नगरमा हुने १५ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१–८२ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि दाबेदारीका लागि बुटवलका खेलाडीहरू जुटेका छन् । यसअघिका चार प्रतियोगितामा उपाधि चुमेको बुटवल पाँचौँ पटक च्याम्पियन बन्ने होडमा छन् । जेठ १७ र १८ गते हुने प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाबाट भाग लिने १०६ जना खेलाडीहरू विभिन्न खेलमैदानमा बन्द प्रशिक्षणमा छन् । देविनगरस्थित न्यु होराईजन स्कुलमा छात्र र छात्रा भलिबलको प्रशिक्षण चलिरहेको छ । सोही विद्यालयमा कबड्डीको समेत कडा प्रशिक्षण चलेको छ । यता मार्सल आर्ट अन्तर्गत कराते र तेक्वाण्डो खेलको हाटबजारस्थित जिल्ला खेलकुद कार्यालयको मैदानमा तयारी भइरहेको छ । एथलेटिक्सको भने रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा प्रशिक्षण चलेको छ । ११ विधामा १०६ जना खेलाडीहरू विज्ञ प्रशिक्षकहरूले बन्द प्रशिक्षणमा खेलको विधि सिकाइरहेका छन् ।
भलिबल खेलको उदयबम मल्ल, एथलेटिक्सको गार्गीका सुमित अधिकारी, कबड्डीको महेन्द्र सुनार, दिनेश आचार्य, करातेको उमेश थापा, तेक्वान्दोको राजिव सिह क्षेत्री र मदन थापालाई जिम्मा दिईएको नगर खेलकुद विकास समितिका बुटवलका संयोजक बोनिन पियाले बताए । यस पटक पनि च्याम्पियन बन्ने योजनासहित तयारी चलेको संयोजक पियाले बताए । प्रतियोगितामा विजेता खेलाडीहरू प्रदेश र त्यसमा पनि विजेता बने राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउने हुँदा पनि यो खेलाडीहरूका लागि उपयुक्त प्लेटफर्म भएको उनले बताए । ‘हामीले तयारीमा कुनै कसर छोडेका छैनौ ।’– उनले भने । अहिले प्रतियोगिता आयोजना गर्न भने उपयुक्त समय नभएको उनको तर्क छ । खेलाडीमा जित्ने मनोभावना विकास भएको छ र उत्साह बढेको उनले बताए ।
रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवलका कार्यालय सचिव चन्द्रकान्त आचार्यले कुल १२ विधाको हुने प्रतियोगितामा जिल्लाका केवल आठ पालिकाहरूले मात्र सहभागिता जनाउने बताए । ‘रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, गैडहवा गाउँपालिका गरी आठ पालिकामा छनौट खेल सम्पन्न गरेका छन् ।’–उनले भने । बाकी आठ पालिकालाई कार्यालयबाट स्पष्टीकरणको पत्र काटेको उनले बताए । प्रदेशस्तरीय प्रतियोगिता जेठ २३, २४ र २५ मा दाङ गर्ने मिति तोकिसकेको हुँदा पनि त्यो अघि जिल्ला छनौट गर्नुपर्ने भएको उनले बताए ।
प्रतियोगिता अन्तरगत एथलेटिक्समा (छात्र/छात्रा) गरी ३ हजार, १५००, ८००, ४००, २०० र १०० मिटर दौड, लङजम्प (छात्र/छात्रा), हाईजम्प, ज्याभलिन थ्रो, सटपुट, त्रिपलजम्प, रिले ४ बाई १००, ४ बाई ४००, कबड्डी, भलिबल, उसु, कराते, तेक्वाण्डो खेलहरू हुनेछन् ।