काठमाडौं, १५ जेठ ।
चालु आर्थिक वर्ष २०८१ फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता भएका छन्। संसद्मा प्रस्तुत आर्थिक सर्वेक्षणअनुसार ती उद्योगमध्ये ठूला उद्योग १५ प्रतिशत, मझौला २२ प्रतिशत र साना उद्योग ६३ प्रतिशत रहेका छन्।

त्यही अवधिसम्म स्वीकृत कुल लगानी ३२ खर्ब ४८ अर्ब ७ करोड रुपैयाँ रहेको छ। लगानीको हिसाबले ठूला उद्योगमा ८३ प्रतिशत, मझौला उद्योगमा १० प्रतिशत र साना उद्योगमा ७ प्रतिशत लगानी परेको देखिन्छ। यी उद्योगबाट ७ लाख ३१ हजार ५६० रोजगारी सिर्जना भएको अनुमान गरिएको छ।
दर्ता भएका उद्योगलाई वर्गीकरण गर्दा उत्पादनमूलक उद्योगको हिस्सा ३५.८४ प्रतिशत, सेवामूलक उद्योगको २५.७९ प्रतिशत, र पर्यटन उद्योगको २३.१० प्रतिशत रहेको पाइएको छ। पूर्वाधारसम्बन्धी उद्योगको हिस्सा सबैभन्दा न्यून ०.७६ प्रतिशतमा सीमित छ।
त्यस्तै, लगानीका आधारमा ऊर्जामूलक उद्योगमा सबैभन्दा बढी ५६.५५ प्रतिशत लगानी भएको छ। उत्पादनमूलक उद्योगमा २०.९६ प्रतिशत, पर्यटनमूलक उद्योगमा ९ प्रतिशत र खनिज उद्योगमा सबैभन्दा कम ०.२९ प्रतिशत लगानी स्वीकृत भएको देखिन्छ।
फागुनसम्म थप ४ सय ३८ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ। यी उद्योगबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।
त्यस्तै, ४ सय २७ परियोजनामा ४४ अर्ब ६६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५३.३ प्रतिशतले बढी हो। फागुनसम्म कुल ६ हजार ९ सय ८२ परियोजनामा ५ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भई ३ लाख ३९ हजार ६७५ रोजगारी सिर्जना भएको छ।
विदेशी लगानीमध्ये सेवा क्षेत्रमा २९.३ प्रतिशत, ऊर्जामा २५.५ प्रतिशत, पर्यटनमा २४ प्रतिशत र उत्पादन क्षेत्रमा १४ प्रतिशत लगानी स्वीकृत भएको छ। खनिज क्षेत्रमा भने सबैभन्दा कम १.५ प्रतिशत मात्रै विदेशी लगानी पुगेको छ।
विदेशी लगानीको स्रोत मुलुकतर्फ चीनबाट सबैभन्दा बढी लगानी भएको छ। कुल स्वीकृत लगानीमा चीनको हिस्सा ४४ प्रतिशत र भारतको १९.४ प्रतिशत रहेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा छ, जसको हिस्सा ४०.९ प्रतिशत छ भने भारतको १२.६ प्रतिशत रहेको छ।



