© २०२३
काठमाडौं ,१५ जेठ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ। केही समयदेखि कन्यासर रोगले पीडित खड्काको आज बिहान ६ बजे दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको हो।
वि.सं. १९९९ साउन १९ गते जन्मिएका खड्का नेपाली कांग्रेस दैलेखका पूर्वसभापति समेत हुन्। उनले कांग्रेसको संगठनात्मक नेतृत्वमा दीर्घकालीन योगदान दिएका थिए। वि.सं. २०३४ देखि २०३७, २०३९ देखि २०४८ र २०५७ देखि २०६७ सालसम्म उनले जिल्ला सभापतिका रूपमा पार्टीको नेतृत्व सम्हाले।
उनले २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यको रूपमा निर्वाचित हुने अवसर प्राप्त गरे भने २०६४ सालको संविधान सभाको निर्वाचनमा दैलेख क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य बन्न सफल भए।
२०५२ साल मंसिरमा उनले भौतिक योजना, निर्माण तथा यातायात सहायक मन्त्रीको जिम्मेवारी पाएका थिए भने २०६४ सालमा स्थानीय विकास राज्यमन्त्रीको रूपमा समेत सेवा गरे।
लोकतन्त्रको स्थापना र पुनःस्थापनाको विभिन्न आन्दोलनहरूमा सक्रिय सहभागी रहँदै उनले कैयौं पटक जेल जीवन बिताउनुपरेको थियो। प्रहरी हिरासत र यातना पनि उनले लोकतान्त्रिक मूल्यका लागि सहनुपरेको थियो।
उनको निधनले पार्टीलाई मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनले एक अथक योद्धा गुमाएको अनुभूति भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत जनाएका छन्। देउवाले खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना गरेका छन्।