© २०२३
काठमाडौँ ।
रत्नपार्कमा नेकपा (एमाले) ले गणतन्त्र दिवसको उत्सव मनाइरहेको बेला राजावादी समूहको र्याली त्यही स्थानमा पुगेपछि केहीबेर दुई पक्षबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ। यद्यपि सुरक्षाकर्मीको बाक्लो उपस्थिति र सतर्कताले सम्भावित झडप हुन दिएन।
दुवै पक्ष एकअर्काप्रति आक्रामक देखिए पनि प्रहरीको संयन्त्रले उनीहरूलाई प्रत्यक्ष रूपमा आमनेसामने हुनबाट जोगाएको हो। एमालेले गणतन्त्रको समर्थनमा कार्यक्रम गरिरहँदा राजावादी समूह भने हालको व्यवस्थाविरोधमा सडकमा उत्रिएको हो।
यस्ता कार्यक्रमलाई व्यवस्थित गर्न प्रशासनले पहिले नै दुवै पक्षसँग समन्वय गरी फरक–फरक समयमा कार्यक्रम गर्ने सहमति गरेको थियो। त्यसअनुसार एमालेलाई दिउँसो २ बजेसम्म कार्यक्रम सम्पन्न गर्न भनिएको थियो भने राजावादीहरूलाई साढे २ बजेपछि मात्र रत्नपार्क पुग्ने समय निर्धारण गरिएको थियो।
तर, समन्वय अनुसार नहुँदा दुवै समूह एकै समयमा रत्नपार्क आसपास पुगेका थिए। एमालेको कार्यक्रम २ बजेसम्म सकिएको थिएन भने राजावादीहरू २ नबज्दै नै त्यहाँ पुगिसकेका थिए।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार, एमालेको कार्यक्रम सकिएपछि अहिले राजावादी समूह शान्तिबाटीकामा भेला भइरहेको छ। सुरक्षा अवस्था यथास्थितिमा राख्न प्रहरी परिचालन अझै कडा बनाइएको छ।