© २०२३
बुटवल, १५ जेठ ।
विद्यालय तहको पाठ्यपुस्तकमा निजी प्रकाशकले खेलाँची गर्ने क्रम रोकिएको छैन । शिक्षा मन्त्रालयको संयन्त्र कमजोर बन्दा निजी प्रकाशकले पुस्तकमाथि नै खेलाँची गर्दै आएका हुन् । जसको कारण विद्यार्थीको पठनपाठन माथि लापरबाही त भएकै छ नै, अभिभावक समेत गलत सामग्रीको मूल्य तिर्न बाध्य छन् ।
देशमा सङ्घीयता आउनु अघिदेखि चल्दै आएको यो बेतिथिलाई शिक्षा मन्त्रालयका अधिकारीहरू विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहको भएको र त्यसको अनुगमन गर्ने जिम्मेवारी पनि उसैको भएको भन्दै तर्किने तर्क अगाडि सार्ने गर्दछन् ।
त्यसको उदाहरणमध्ये वेदान्त पब्लिकेशन प्रालिले प्रकाशनमा ल्याएको कक्षा ५ को ‘एक्सल इन गणित’ विषयको पाठ्यसामग्री एक हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट २०७९ साल फागुन ३ गते स्वीकृति लिएको पाठ्यसामग्रीमा प्रकाशकले कभर र मूल्य उस्तै राखी दुई थरी पाठ्यसामग्री विद्यार्थीको हातसम्म पु¥याएको छ ।
एउटै कक्षाका एकै बेन्चका विद्यार्थीको हातमा यी दुई थरीका पाठ्यसामग्री हातमा परेपछि वेदान्त पब्लिकेशनले गरेको बदमासी बाहिर आएको हो । २८८ पेज रहेको पाठ्यसामग्रीमा १६ वटा युनिट छन् भने २८६ पेज रहेको पाठ्यसामग्रीमा १८ वटा युनिट रहेका छन् । तर ती दुई पाठ्यसामग्री पहिलो संस्करण २०७७, दोस्रो संस्करण २०७८, तेस्रो संस्करण २०७९, रिभाइज र अपडेट संस्करण २०८० र पुनः मुद्रण २०८२ लेखिएको छ । २०८० मा ५० हजार प्रति पुनः मुद्रण गरिएको पाठ्यसामग्रीको मूल्य रु. ४२३ ले हिसाब गर्दा २ करोड बढीको कारोबार देखिन्छ ।
वेन्दान्त पब्लिकेशनका प्रालिका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले दुई थरी पाठ्यसामग्री बजारमा गएको स्वीकार गरे । तर कानुनी रूपमा ती दुई पाठ्यसामग्री ठिक रहेको जिकिर गरे । दुई थरी सामग्री बजारमा लग्नु बदमासी होइन र ? भन्ने जिज्ञासामा श्रेष्ठले भने पुस्तक गलतै त होइन नि, त्यो पनि पुरानो स्वीकृत हो, त्यो पढेरै बच्चा बिग्रिने त होइन नि । उनले दुई थरी पाठ्यसामग्री बजारमा जानु गल्ती भएको स्वीकार गरे पनि ‘इलिगल’ नभएको तर्क गरिरहे ।
प्रेसले पुरानो फाइल छापिदिँदा गल्ती भएको र बजारबाट गुनासो आएपछि थाहा भएको भन्ने श्रेष्ठको भनाइमा सत्यता देखिँदैन । किनकि पुरानो भनी प्रकाशन गृहले बजारमा पठाएको पाठ्यसामग्रीमा समेत पुनः मुद्रण मिति २०८२ नै उल्लेख छ । त्यसमा प्रकाशनले पुरानो बचेको पाठ्यसामग्रीमा केही पाना र गाता बदलेर नयाँ रूप दिएको देखिन्छ । ती पाठ्यसामग्री फरक जिल्ला र फरक प्रदेशमा छुट्टाछुट्टै पठाउने गरी गरिएको काममा मिसमास भएपछि एकै जिल्ला र एकै पुस्तक पसलसम्म दुई थरी पाठ्यसामग्री पुगेको आशङ्का छ । विगतमा अरू प्रकाशनहरूले त्यसरी काम गर्दा यस्ता गल्ती हुने गरेको प्रशस्त उदाहरण पुस्तक प्रकाशक र विक्रेतासँग छन् ।
शैक्षिक सत्र २०८०, २०८१ र २०८२ गरी तीन शैक्षिक सत्रका लागि गुणस्तरीय एवम् त्रुटिरहित पाठ्यसामग्री विकास गरी प्रकाशन गर्न स्वीकृति प्रदा नगरिएको छ । विद्यमान संवैधानिक व्यवस्था, ऐन, कानुन, निर्देशिका, कार्यविधि, पाठ्यक्रम विकास केन्द्रले विभिन्न समयमा जारी गरेका निर्देशिका लगायतका प्रावधानहरूको पूर्ण परिपालना नगरी गुणस्तरहीन पाठ्यसामग्रीको विकास, प्रकाशन र बिक्री वितरण गरेको पाइएमा, पाठ्यक्रम परिवर्तन भएमा वा यस केन्द्रबाट अन्य निर्णय भएको यो स्वीकृति जुनसुकै बेला रद्द हुने कानुनी व्यवस्था छ ।
निर्देशनको ४ नम्बर बुँदामा पाठ्यसामग्रीमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत प्राप्त भन्ने ब्यहोरा उल्लेख गरी प्रकाशन गरेको पाठ्यसामग्रीको एक प्रति यस केन्द्रमा पेस गरेपछि मात्र बिक्री वितरण गर्ने पाठ्यक्रम विकास केन्द्रको पत्र नै पाठ्यसामग्रीमा छपाई गरेको छ ।
पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएको भन्दा फरक खालको पाठ्यसामग्री बिक्री वितरण गर्न नपाउने केन्द्रका सूचना अधिकारी वासुदेव बस्ती बत्ताउँछन् । उनले विद्यालय तहको अधिकार स्थानीय तहमा गएको हुँदा त्यसको अनुगमन गर्ने काम पनि उसैले गर्नुपर्ने र जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाई र केन्द्रमा रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि पाठ्यपुस्तक अनुगमनको जिम्मेवारी रहेको बताए ।
तर स्वीकृति लिँदा प्रकाशकले हामीकहाँ पाठ्यसामग्रीको पाण्डुलिपि पेस गरे अनुसार नै प्रकाशकहरूले सामग्री बाहिर लैजानुपर्ने बस्ती बत्ताउँछन् । पाण्डुलिपिभन्दा फरक बिक्री वितरण गरिएको पाइए कानुन अनुसार कारबाही हुने केन्द्रको निर्देशक समेत रहेका बस्तीले बताए । गलत गरेको सूचना पाइए स्पष्टीकरण सोध्ने, रद्द गर्ने, कालो सूचीमा राख्ने जस्ता प्रावधानहरू कानुनमा भएको र उक्त काम प्रमाणका आधारमा गरिने उनको भनाइ छ ।