© 2026
दाङ,१५ जेठ ।
दाङमा चोरीको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँच जना बालबालिका र दुई जना सुनचाँदी पसलका सञ्चालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी कविराज रोकायाका अनुसार पक्राउ पर्ने बालबालिकामध्ये चार जना १४ वर्षका र एक जना १६ वर्षका रहेका छन् । चोरीको सामान किन्ने राहुल सुनचाँदी पसल लमहीका पसल सञ्चालक गुल्मी बलेटक्सार गाउँपालिका–४ घर भई हाल गढवा गाउँपालिका-७ का ३० वर्षका देव बहादुर बिक रहेको सूचना अधिकारी रोकायले जानकारी दिए ।
२०८१ चैत २३ गते राप्ती गाँउपालिका-७ बडका सिसहनियाका तारा गौतमले कोठाको दराज भित्र रहेको काँचो सुन र सुनका गहना गरी अन्दाजी २० तोला सुन, एचपि कम्पनीको एक थान ल्यापटप चोरी भएको भनी दाङ प्रहरीमा निवेदन दिएकी थिइन् ।
उक्त निवेदनको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा २०८२ जेठ ११ गते चार जना किशोरी र एक जना किशोरलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी रोकायले जानकारी दिए । सोधपुछमा उनीहरूले चोरी गरेका गहना ‘राहुल सुनचाँदी पसल’मा बिक्री गरेको स्वीकारेको उनले बताए ।
सुनचाँदी पसल खानतलासी गर्दा प्रहरीले ८ तोला १४ लाल ४ प्वाईन्टका विभिन्न तयारी गर गहनाहरू, २ तोला ६० लाल ८ प्वाइन्ट का पुराना स्वरूप परिवर्तन गर्दै गरेका सुनका टुक्रा तथा कुच्चाएको सुन, २ तोला ४२ लाल तामाको डन्डी सहितको पञ्चरत्न बाला, नौ तोला ९० लालको माला र कपडा सहितको सुनको छड्के तिलहरी बरामद गरेको छ ।
यस्तै भारतीय नोट पाँच सयको ७५ थान ३७ हजार पाँच सय, नेपाली नोट ९० हजार, सुन तौल गर्ने डिजिटल मेशिन एक थान, सुन गलाउने पम्प दुई थान फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।