© २०२३
लमही, १५ जेठ ।
लुम्बिनी प्रदेशका सरकारले थरुहरू जातिमा परम्परादेखि चल्दै आएको बडघर प्रथालाई थारु अब कानुनी ढाँचामा लाने तयारीमा रहेको छ । लुम्बिनी प्रदेशका प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत सामाजिक संरचना वडघर प्रणालीलाई कानुनी रूप दिन प्रदेश सरकार ‘वडघर ऐन’ ल्याउने तयारीमा रहेको बताएका छन् । देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाँके जिल्लाका थारु समुदायका प्रतिनिधिहरूसँगको छलफलमा मुख्यमन्त्री आचार्यले वडघर संरचनालाई विधिसम्मत ढङ्गले संस्थागत गर्न ऐन निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए । “समाजको समृद्ध र न्यायपूर्ण रूपान्तरणका लागि परम्परागत संरचनालाई आधुनिक शासन प्रणालीसँग जोड्दै अघि बढ्न जरुरी छ,“ मुख्यमन्त्री आचार्यले भने, “वडघर प्रणालीको महत्वलाई राज्यले सम्मानका साथ स्वीकार गर्दै अध्ययन, परामर्श र कानुनी प्रक्रिया पूरा गरी ऐन ल्याउने तयारी भइरहेको छ।“उनले थारु समुदायको कला, संस्कृति, भाषा र लिपिको संरक्षण र प्रवर्द्धनमा सरकार विशेष रूपले क्रियाशील रहेको पनि बताए । “थारु समुदायको बाक्लो उपस्थिति भएका जिल्लामा केन्द्रित कार्यक्रममार्फत पछाडि पारिएका समुदायलाई राज्यको मूलधारमा ल्याउने सरकारको स्पष्ट नीति छ,“ उनको भनाइ थियो ।
छलफलमा कोहलपुर नगरपालिकाबाट सहभागी थारु समुदायका प्रतिनिधिहरूले मुख्यमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै वडघर प्रणालीलाई संरक्षित, संस्थागत र सशक्त बनाउन आग्रह गरे । वडघर प्रणाली थारु समुदायमा सामाजिक न्याय, सामूहिक निर्णय प्रक्रिया, मेलमिलाप र सहजीवनको अभ्यासको रूपमा विकसित भएको संरचना हो, जसले शान्ति सुव्यवस्था, सामाजिक ऐक्यबद्धता र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।
प्रतिनिधिहरूका अनुसार अहिलेको चुनौती भनेको यस ऐतिहासिक परम्परालाई राज्यका नीतिगत संरचनासँग जडान गर्दै दिगो रूपमा संरक्षण गर्नु हो । लुम्बिनीका केही स्थानीय पालिकाहरूले बडघर प्रथालाई कानुनी मान्यता दिएका छन् भने कहिले मस्यौदा तयारीमा रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताए । “बडघर“ भन्ने शब्द “ठुलो घर“ वा “मुख्य घर“ भन्ने अर्थ दिन्छ। यस प्रणालीमा, एक गाउँमा सबैभन्दा अगुवा, अनुभवी, वा प्रभावशाली व्यक्तिलाई ’बडघर’ भनिन्छ, र उनले गाउँका सामाजिक, धार्मिक, तथा न्यायिक कार्यहरूमा नेतृत्व गर्ने गर्छन् ।
सामाजिक नेतृत्व: बडघरले गाउँका झगडा समाधान गर्ने, मेलमिलाप गराउने, र सामुदायिक काममा समन्वय गर्ने भूमिका लिन्छ ।, अनौपचारिक न्याय प्रणाली: कुनै पनि विवाद परेमा मानिसहरू अदालत होइन, पहिले बडघर कहाँ जान्छन् । बडघरले गाउँको परम्परा र नैतिक मूल्यका आधारमा न्याय दिन्छ । त्यसै गरि धार्मिक तथा सांस्कृतिक भूमिका: गाउँमा हुने पूजापाठ, चाडपर्व, रीतिरिवाजमा बडघरले नेतृत्व गर्छ ।