© २०२३
काठमाडौं, १५ जेठ ।
रातको १२ बज्छ । मन थाकिसक्छ । तर औंलाले स्क्रोल गर्न छोड्दैन। एक भिडियो सकिएपछि अर्को आउँछ। पढ्नुपर्ने किताबहरू टेबलमा छन्।तर आँखाको ध्यान स्क्रिनमा हुन्छ ।१२ कक्षादिएर नतिजाको पर्खाईमा रहेकी १८वर्षीया एक किशोरीको अनुभव हो यो ।
मोबाइल नपाउँदा असहज महसुस हुन्छ। निद्रा पनि ढिलो लाग्छ। एकैछिन मोबाइल वा ल्यापटप नेहेरी सुत्नै गाह्रो हुन्छ। १५ वर्षीया एक किशोरीको भनाइ हो यो । सामाजिक सञ्जाल विशेषगरी टिकटकको अत्यधिक प्रयोगले नेपाली किशोरकिशोरीहरूमा गम्भीर मानसिक, सामाजिक र शैक्षिक असर पारिरहेको छ। नेपाली किशोर–किशोरीको नयाँ डिजिटलले यथार्थ अवस्था चित्रण गर्छ।
पछिल्लो पटक डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगका कारण किशोर–किशोरीहरूमा आएको यो परिवर्तनले अभिभावकहरूलाई गम्भीर चिन्तामा पारेको छ। टिकटक चलाउने, गेम खेल्ने र छोटो भिडियो साझा गर्ने प्लेटफर्म नेपाली किशोर–किशोरीबिच तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ। केही मिनेटको मनोरञ्जनका लागि सुरु भएको यो प्रयोग आज धेरैको जीवनशैलीमा व्यापक प्रभाव पार्दैछ। तर, यही लोकप्रियता पछाडि लुकेको खतरा भने धेरैले नदेखेका वा बेवास्ता गरेका छन्।
“मोबाइलमा टिकटक हेर्न, गेम खेल्ने लत लागेपछि छोराले राति सुत्न छाड्यो। बिहान पढ्न उठ्न गाह्रो मान्छ । घरमा तनाव बढेको छ। पढाई, स्कुल,भविष्य केहीको विषयमा कुरा गर्न खोज्यो रिसाइहाल्छ, झर्किन्छ र उठेर हिंड्छ । केही कुरा सुन्नै चाहँदैन । जसले गर्दा परिवारमा तनाव बढेको छ”–टोखा–२ का रामकृष्ण अधिकारीको मात्र होईन किशोर अवस्थाका छोराछोरी रहेका हरेक घरको अहिलेको समस्या हो ।
त्यस्तै पिडा छ सीतापाईलाकी सीता शर्माको । उनको १६ वर्षको छोरीलाई पनि डिजिटल लतले धेरै असर पारेको छ । पढ्न बसे पनि मोबाइलमै ध्यान रहन्छ। गृहकार्य अलपत्र हुन्छ । केही बोल्नै हुँदैन, केही गर्ने हुनकी भन्ने डर । “छोरी हामीसँग बस्दिन अहिले । स्कुलबाट आएपछि पनि सिधा कोठा छिर्छे। राति अबेरसम्म फोन चलाउँछे।”
सामाजिक सञ्जालमा अत्यधिक संलग्नताले केवल मानसिक स्वास्थ्य मात्र होइन । किशोरहरूका पढाई, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारमा समेत असर पारिरहेको अभिभावकहरू बताउँछन्। धेरै अभिभावकहरू उनीहरूको अनलाइन गतिविधिको कारण चिन्तित छन्।
हालै सार्वजनिक भएको अध्ययनहरूले देखाउँछन् कि सामाजिक सञ्जाल, विशेषगरी टिकटक जस्ता छोटा भिडियो एपहरूको लत नेपाली किशोरकिशोरीबिच तीव्र रुपमा बढ्दो छ।
डिजिटल अनुसन्धान प्लेटफर्म डाटा रिपोर्टलका अनुसार सन् २०२५ को सुरुवातसम्म नेपालमा करिब एक करोड ४३ लाख सामाजिक सञ्जाल प्रयोगकर्ता थिए । जुनकुल जनसंख्याको करिब ४८ प्रतिशत हो। यसमध्ये सबैभन्दा धेरै प्रयोगकर्ताहरू १६ देखि २४ वर्ष उमेर समूहका छन् । जसले कुल प्रयोगकर्ताको ५५ प्रतिशत हिस्सा ओगटेका छन्।
काठमाडौंमा गरिएको एक अध्ययनले अझै गम्भीर अवस्था देखाएको छ। अध्ययन अनुसार १३ देखि १९ वर्ष उमेर समूहका ४३.६ प्रतिशत किशोरहरूले दैनिक ४ देखि ८ घण्टा सामाजिक सञ्जाल प्रयोग गर्छन्। तीमध्ये ६५.८ प्रतिशत किशोरकिशोरीहरुले भनेका छन् कि सामाजिक सञ्जाल चलाउँदा उनीहरूलाई ‘चिन्ता’वा ‘अशान्ति’ महसुस हुन्छ । यसलाई विज्ञहरु डिजिटल लतको प्रारम्भिक संकेत भएको बताउँछन् । यी तथ्यांकले किशोर अवस्थामा मानसिक स्वास्थ्यमाथि सामाजिक सञ्जालको गम्भीर प्रभाव स्पष्ट रूपमा देखाउँछ।
टिकटक र यस्तै डिजिटल प्लेटफर्महरूले किशोरहरूमा ‘डोपामिन हिट’ दिने प्रवृत्ति राख्छन्। छोटो–छोटो रमाइला भिडियोहरूले मस्तिष्कमा खुशीको हार्मोन डोपामिनको मात्रा एक्कासी बढाउँछ जसले ‘स्मार्टफोन लत’ जन्माउँछ। किशोर मस्तिष्क अझै विकासको चरणमा भएकाले उनीहरू यस्तो डिजिटल आश्रितमा छिट्टै फस्न सक्छन्। बाल मानसिक स्वास्थ्य विशेषज्ञ डा. उत्कर्ष कार्की भन्छन्, “हामीकहाँ आउने धेरैजसो केसहरूमा समस्या एउटै देखिन्छ। मोबाइलको अत्यधिक प्रयोग। सामाजिक सञ्जालले किशोरकिशारीहरुलाई वास्तविक सम्बन्धबाट टाढा बनाइरहेको छ। यो चिल्ताको विषय हो ।”आजको डिजिटल युगमा किशोरहरू टिकटक, गेम जस्ता एपहरूमा धेरै समय बिताउँछन्। जसले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। “चिन्ता, तनाव र एक्लोपन जस्ता समस्या बढ्दैछन्। अभिभावकहरूले आफ्ना बालबालिकाको डिजिटल प्रयोगमा निगरानी राख्न र स्वस्थ डिजिटल व्यवहारको अभ्यास गराउनआवश्यक छ”–उनी भन्छन् ।
डा. कार्की भन्छन् “अभिभावकहरूले सन्तानको व्यवहारमाआएको परिवर्तनलाई सामान्य ठान्नु हुन्न। संवाद गर्नुस्, समय मिलाएर बच्चासँग बस्नुस् र अनलाइन समय सीमित गर्न सहयोग गर्नुस्। नियम भनेको कारवाही होइन, सम्झौता हुनु पर्छ।”टिकटक जस्ता एपहरूले किशोरहरूमा लतको लक्षण देखिन थालेको छ। चिन्ता, एक्लोपन, निद्राको समस्या,कुनै एउटा विषयमा ध्यान केन्द्रित गर्न गाह्रो हुने, चिडचिडोपना जस्ता लक्षणहरू बढ्दै छन्। अभिभावक र शिक्षकहरूले संयमित प्रयोग र संवादमार्फत सन्तुलन राख्नआवश्यक छ ।
“डिजिटल प्लेटफर्म केवल मनोरञ्जनको साधन होइन । यो किशोरकिशोरीहरुको मानसिक, सामाजिक र शैक्षिक विकासमा निर्णायक प्रभाव पार्न सक्ने शक्ति भएको माध्यमहो। त्यसैले अब आवश्यक छ कि अभिभावक, शिक्षक, सरकार र समाज मिलेर डिजिटल सचेतता र सन्तुलनमा ध्यान दिनुहोस्”–डा. कार्कीको सुझाव छ ।
नेपालमा सामाजिक सञ्जाल प्रयोग तीव्र गतिमा बढ्दो छ। तर, किशोरहरूमा यसको दुरुपयोगले गम्भीर मानसिक, शैक्षिक र पारिवारिक असर पारिरहेको तथ्यांकहरूले देखाएका छन्।
डिजिटल साक्षरता — विद्यालयदेखि नै सामाजिक सञ्जालको सचेत प्रयोगबारे पाठ्यक्रम समावेश गरिनु। अभिभावक–सन्तान संवाद — मोबाइल खोस्ने होइन, प्रयोगको कारण र समयबारे खुलेर कुरा गर्ने बानी बसाल्नु।
सरकारी नीति — किशोर लक्षित सामग्रीमा उमेर सीमा, प्रयोग समयको सीमावा नियन्त्रण नीति ल्याउनुपर्छ। ‘नो स्क्रिन डे’ अभ्यास — साप्ताहिक रुपमा परिवारसँग ‘स्क्रिन–रहित’ समय बिताउने अभ्यास विकास गर्नआवश्यक रहेको विज्ञहरु बताउँछन् ।