© २०२३
काठमाडौँ ।
अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेका छन्। प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले मधेश, कोशी र सुदूरपश्चिम प्रदेशबाहेक अन्य चार प्रदेशमा औसत आर्थिक वृद्धि बढी हुने उल्लेख गरे।
आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षका आठ महिना र अघिल्लो वर्षको समग्र आर्थिक अवस्थालाई समेटेको छ। सोअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
विभिन्न क्षेत्रगत विश्लेषण अनुसार, कृषि क्षेत्रमा २५.१६ प्रतिशत, उद्योग क्षेत्रमा १२.१६ प्रतिशत र सेवा क्षेत्रमा ६२.१ प्रतिशत योगदान रहनेछ। यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि वृद्धि भई १,५१७ अमेरिकी डलर पुगेको जानकारी अर्थमन्त्री पौडेलले दिएका छन्।
सर्वेक्षणमार्फत आर्थिक संरचना, उत्पादन, सेवाको अवस्था र आम्दानीमा आएको परिवर्तनबारे स्पष्ट चित्र प्रस्तुत गरिएको छ, जसले आगामी नीति तथा बजेट निर्माणमा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।