© २०२३
नेपालमा गणतन्त्र घोषणा भएको आज जेठ १५ गते १७ वर्ष पूरा हुँदै छ । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्रप्रमुख हुन्थे । विसं २०६२/६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानअनुरूप सम्पन्न संविधान सभाको निर्वाचनपश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना ग-यो । त्यसपछिको संविधान सभाले डा रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा ग-यो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति हुनुहुन्छ ।
नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकका रूपमा स्थापित गरेको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुने छ भन्ने संविधानले निर्दिष्ट गरेको छ । दोस्रो संविधान सभाबाट ०७२ असोज ३ मा जारी संविधानले गणतन्त्रलाई संस्थागत ग-यो । गणतान्त्रिक मुलुक बनिसक्दा पनि शासन शैलीमा फरकपन नआएको भनेर कतिपयबाट बेलाबखतमा असन्तुष्टि सुनिने गरेको छ ।
गणतन्त्रका उपलब्धिहरू
– राजतन्त्रको अन्त्य र जनताको सार्वभौमिकता
– संविधानसभा र नयाँ संविधान (२०७२)
– सङ्घीय शासन व्यवस्था
– समावेशिता र समानता
– मानवअधिकार र मौलिक हकको सुनिश्चितता
– स्वतन्त्र न्यायालय र स्वतन्त्र सञ्चार
– राजनीतिक चेतना र जनसहभागिता वृद्धि
– विकासमा जनसहभागिता एवं स्थानीय तहको सक्रियता
यी सबै उपलब्धिहरूले नेपाललाई एक समावेशी, उत्तरदायी र जनतामुखी राष्ट्रका रूपमा अगाडि बढाउन मद्दत गरेको छ। यद्यपि अझै केही चुनौतीहरू बाँकी छन् — जस्तै भ्रष्टाचार, राजनीतिक अस्थिरता, कार्यान्वयनको कमजोरी — तर गणतन्त्रले देशलाई जनताको हितमा सञ्चालन गर्ने आधार निर्माण गरिदिएको छ।
गणतन्त्र नेपाली जनताको रगत, पसिना र आँसुबाट प्राप्त भएको व्यवस्था हो । यो संविधानको पानाभित्र मात्र सीमित छैन, यो जनताको स्वाभिमान, अस्तित्व र अधिकारको आधार हो । जेठ १५ केवल गणतन्त्र दिवस मनाउने दिन मात्र नभई हाम्रो इतिहास र गणतन्त्रका लागि सहिद हुनेहरूलाई सम्झने ऐतिहासिक दिन हो । गणतन्त्रको व्यवस्था ल्याउनको लागि हरेक नेपालीले गरेको त्याग र तपस्या अनुकरणीय छ । त्यस कारण देशका हरेक तहमा रहेका व्यक्तिहरूले संविधान र कानुनलाई उचित रूपमा पालन गर्दै जिम्मेवारीको भारी बोक्न सके वास्तवमै देशमा गणतन्त्रको व्यवस्था भएको कुरा महसुस हुन सक्छ । १७ औँ गणतन्त्र दिवसको सम्पूर्णमा शुभकामना !