© २०२३
काठमाडौँ, १४ जेठ ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजतन्त्रले मोका पाउनासाथ जनतालाई अधिकारविहीन बनाउने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार काठमाडौँमा गणतन्त्र दिवसको अवसर पारेर आयोजित ‘लोकतान्त्रिक आन्दोलन र तीर्थराम डङ्गोल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिले राजतन्त्र पुनस्थापना पक्षधरले गरिरहेको आन्दोलनतर्फ लक्षित गर्दै उनले राजतन्त्रबाट केही नहुने बताएका हुन ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कसैको दयामायाले नभई जनताको सङ्घर्षबाट प्राप्त भएको बताए । ‘राजतन्त्र देखेकै हो । संवैधानिक राजतन्त्र पनि । मौका पाउनासाथ जनतालाई अधिकारविहीन बनाउने बाहेक केही पनि हुँदैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमै जनताको हित हुन्छ । यसैलाई विकास गरे संस्थागत गरेर अगाडी जानुको अरू कुनै विकल्प छैन,’ उपप्रधानमन्त्री सिंहले भने ।
जनताले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्न नहुने भन्दै उनले अधिकारसँगै जिम्मेवारीप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए । ‘तपाईँ हाम्रो काँधमा आएको चुनौतीलाई सामना गर्दै ०७२ सालमा जारी भएको संविधानलाई संस्थागत रूपमा अगाडी बढाएर राजनीतिक स्थिरताको आधारमा आम नेपाली जनताले चाहेको हरेकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने चाहना पूरा गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो गर्न सक्यौ भने तीर्थराम दाईसहित लोकतान्त्रिक आन्दोलनमा योगदान गर्नेहरूप्रति उच्च सम्मान हुन्छ । त्यसका लागि राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धिमा अब ध्यान दिनुपर्छ ।’
नेपाली काँग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका सिंहले प्रजातन्त्र पुन स्थापनापछि पूर्वाधारको विकासमा धेरै काम भएको दाबी गरे । ०४८ साल अगाडी काठमाडौँमै विकासको अवस्था कमजोर रहेको भन्दै कुनै योगदान नगरेका र सामाजिक सञ्जालबाट उदाएका पार्टीहरूले केही पनि भएन भनेर झुटको खेती गरिरहेको बताए ।
‘०४८ सालमा म काठमाडौँ ४ बाट उठ्दा यहाँको हालत के थियो ? मानिसहरूले मुस्किलले जुत्ता लाउन पाउँथे । खानेपानीको सुविधा थिएन । बाटोघाटो थिएन । राजधानीको हालत त्यस्तो थियो,’ उनले भने, ‘अहिले अवस्था धेरै फरक भएको छ । तर, पनि केही भएन, केही भएन भन्छन् । सिन्को नभाँचेका, केही योगदान नगरेकाहरू केही भएन भन्दै हामी गछौं भनेर आउँछन् । के यो सम्भव छ ? नेपाली काङ्ग्रेसजस्तो एकपछि अर्को परीक्षा पास गरेको पार्टीलाई त जनताले प्रश्न गर्छ भने केही गर्दै नगरेको, सामाजिक सञ्जालको माध्यमबाट आएकाहरूले सही अर्थमा गर्न सक्छन् ?’