आज विश्व महिला स्वास्थ्य दिवस । हरेक वर्ष मई २८ को दिनमा यो दिवस मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस मनाउने औपचारिकता पूरा गरिँदै आइएको छ । हरेक वर्ष महिला स्वास्थ्य दिवस मनाई रहँदा महिलाहरूको स्वास्थ्य अधिकारको ग्यारेन्टी गर्नुपर्ने नारा अहिलेदेखि मात्र होइन धेरै वर्ष अघिदेखि नै उछालिदै आएको छ तर महिलाहरू अपेक्षित स्वास्थ्य अधिकारको पहुँचबाट नै वञ्चित भइरहेका छन् । अहिले पनि महिलाहरूको स्वास्थ्य पुरुषको तुलनामा कमजोर छ । उनीहरूको स्वास्थ्यमा पहुँच अझै पुग्न सकिरहेको छैन । महिला हुनुकै नाताले अनेक रोगहरूको सामना खेप्नुपरिरहेको छ । महिलाहरूमा पुरुषको तुलनामा धेरै रोगको जोखिम हुने गर्दछ । त्यसैले महिला स्वास्थ्य दिवसको अवसरमा महिलाहरूलाई स्वास्थ्यको पहुँचमा राख्नु जरुरी छ । प्रजनन अधिकार महिलाहरूको प्रकृतिले दिएको अधिकार हो तर यही अधिकार महिलाहरूका लागि स्वास्थ्य समस्या पनि हुने गरेको छ ।
यो दिवस मनाउँदै गर्दा नेपालमा अहिले करिब ७ लाख महिलाहरू पाठेघर झर्ने समस्याबाट ग्रसित छन् । पाठेघर झर्ने समस्या लिएर पुग्ने मध्ये अधिकांश महिला ३५ वर्ष भन्दा बढी उमेरका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ६ लाखमध्ये अधिकांश महिला सानैमा विवाह भएका, प्रजनन अङ्ग सक्षम नहुँदै आमा बनेका, धेरै सन्तान जन्माएका, सुत्केरी भएको बेलामा जटिल काममा लाग्न बाध्य भएकाहरूमा स्वास्थ्य समस्या बढी देखिएको छ । यसको असर ढाड दुख्ने, तल्लो पेट दुख्ने, बसेर काम गर्न नमिल्ने हुँदै जाँदा पाठेघर झरेको थाहा भएको भेटिएको थियो । पछिल्लो समय यो भयावह रोगका रूपमा देखा परिरहेको छ । त्यसै गरी स्तन क्यान्सर पनि महिला स्वास्थ्यका लागि चुनौती बन्दै आएको छ । स्वास्थ्यमा पहुँच नभएका महिलाहरूका लागि यी रोग जोखिम बन्दै गएका छन् । समयमा चेकजाँच नगर्ने तथा रोग लागेपछि पनि बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको छ । स्वास्थ्य अधिकारकै कुरासँग अरू धेरै सवाल पनि जोडिएर आएका छन् । मुलुकको परिवर्तनको लागि सङ्घर्ष गरेका महिला घाइते भएर ढल्दा पनि राज्यले बेवास्ता गर्दै आएको छ ।
तसर्थ महिलाहरूको स्वास्थ्य अधिकारका लागि अव महिलाहरू स्वयं उठ्नुपर्ने आवश्यकता छ । मुलुकको परिवर्तनको खातिर महिलाहरू जहिले पनि सडकमा उत्रिएकै छन् । अव आफ्नै स्वास्थ्य अधिकारका लागि महिलाहरू आन्दोलित हुनु जरुरी छ । हरेक क्षेत्रमा महिलालाई अघि सारेर उनीहरूलाई प्रयोग मात्र गरिन्छ । उनीहरूलाई अधिकार दिने कुरा आउँदा सधैँ विभेद हुन्छ । त्यही विभेदमा स्वास्थ्य अधिकारको विभेद पनि पर्दछ । यद्यपि महिलालाई उच्च स्थान दिन कन्जुस्याइँ गरे पनि महिलाको प्रतिनिधित्व हरेक क्षेत्रमा हुने गरेको छ । वास्तवमा महिलाहरू हरेक क्षेत्रमा पुरुष बराबर काम कर्तव्यमा अगाडी बढेका छन् । यो सबै भए पनि निर्णायक र नेतृत्व तहमा महिलाको सहभागिता बढ्न सकेको छैन । अहिले पनि महिला कमजोर हुन्छन्, गर्न सक्दैनन् भन्ने जस्ता सोचाइमा परिवर्तन हुन सकिराखेको छैन ।
तर, महिलाहरूले देखाइदिएका छन् । हरेक क्षेत्रमा भइरहेको महिला सहभागिताले महिलाहरू कमजोर छैनन् भन्ने प्रमाणित भैसकेको छ । अव को दिनमा महिलाहरूको कमजोरीको रूपमा रहेको स्वास्थ्य समस्या समाधानमा राज्यको ध्यान पुग्यो भने महिला भएकै कारण कमजोर बन्नुपर्ने र डराउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको भए पनि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाहरूको समान सहभागिता अझै वृद्धि हुन सकेको छैन । महिला मैत्री नीति र व्यवहारमा कमी छ । चाहे त्यो प्रशासनिक अधिकारको सवालमा होस वा समाजमा दैनन्दिन आई पर्ने अनेक पहलहरूमा पनि । स्वास्थ्यका चेतनामूलक कार्यक्रमबाट समेत उनीहरूलाई पछि पारिएको अवस्था छ । महिलाको सम्मानित भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षाभित्र स्वास्थ्य अधिकारलाई पनि जोड्नु जरुरी छ ।