© २०२३
काठमाडौं, १४ जेठ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग चर्किए पनि नेपाली कांग्रेसले गृहमन्त्री न राजीनामा दिने, न त उनीमाथि छानबिन समिति नै बन्ने स्पष्ट पारेको छ।
सत्ता गठबन्धनका दलहरूबीच बालुवाटारमा बसेको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीमाथि कुनै प्रश्न नै नउठेकाले छानबिनको कुरा आवश्यक नरहेको बताए। उनका अनुसार कर्मचारी तहमा उठेको प्रश्नका आधारमा गृहमन्त्रीमाथि छानबिन गर्नु तर्कसंगत छैन।
‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन,’ घिमिरेले भने, ‘राजीनामा दिनुपर्ने कुनै कारण देखिँदैन।’
तर विपक्षी दलहरूले भने लेखक भिजिट भिसा दुरुपयोग प्रकरणमा संलग्न भएको आरोप लगाउँदै राजीनामाको माग गरिरहेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठक यही विवादका कारण अवरुद्ध भएको थियो भने बुधबारको बैठक पनि अवरोध हुने विपक्षीहरूको तयारी रहेको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक सुरु हुन बाँकी छ।