Butwal Today

फुर्सदले जोड्दै आम्दानी

थारु कल्याण कारिणी सभा नगर कार्य समितिको आयोजनामा र वडा नम्बर ५ को आर्थिक सहयोगमा सुरु भएको २० दिने तालिमले थारु महिलाहरूलाई आफ्नो पहिचानसँगै आत्मनिर्भर र जीवनयापनको बाटो पनि खुलेको छ ।
१४ जेष्ठ २०८२, बुधबार
अ+
अ-

चन्द्रौटा, १४ जेठ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–५, उत्तर रहटकोलमा सञ्चालनमा आएको ढकिया बनाउने तालिम यति बेला गाउँमा आशा र उत्साहको केन्द्र बनेको छ । थारु कल्याणकारीणी सभा नगर कार्य समितिको आयोजनामा र वडा नम्बर ५ को आर्थिक सहयोगमा सुरु भएको २० दिने तालिमले थारु महिलाहरूलाई आफ्नो पहिचानसँगै आत्मनिर्भर र जीवनयापनको बाटो पनि खुलेको छ ।

ढकिया बनाउने परम्परा थारु समुदायको जीवनशैलीसँग गहिरो सम्बन्ध राख्दछ । काँस र मुज जस्ता स्थानीय वनस्पतिको प्रयोग गरी बनाइने ढकिया केवल भाँडा कुचो छोप्ने साधन मात्र होइन, यो सीप थारु संस्कृतिको एउटा अनमोल चिनो पनि हो । तर समयसँगै यो सीप लोप हुने चरणमा पुगेको छ । पछिल्लो युवा पुस्ता यो सीपबाट टाढा छन् । यो सीप आजको पुस्ताले न सिके पहिचान लोप हुनेछ ।

यस्तै तालिममा अर्की सहभागी पुनम थारु भन्छिन्,-“पहिले बजारमा ढकिया देख्दा बनाउने इच्छा लाग्थ्यो, तर सीप थिएन । अहिले तालिममा सहभागी भएपछि सहजै बुन्न सक्ने विश्वास लागेको छ । म आफैँ बुनिरहेको छु, विश्वास पनि बढेको छ ।” उनी मात्र होइन, दर्जनौँ महिलाहरू अहिले ढकिया मात्र होइन, चकटी, टोपी, डस्टबिन, म्याट, फूलदानी, टिम्याट, भुर्की, पेन होल्डर जस्ता १०–१२ प्रकारका सामग्रीहरू बनाउन सक्ने सीप सिकिरहेका छन् । यी सामग्रीहरू सिकेर बेचबिखन पनि गर्न सकिने भएकाले महिलाहरूमा आत्मनिर्भर बन्ने आत्मबल झन् बढेको छ ।

थारु कल्याणकारीणी सभा नगर समिति तथा अगुवा प्रकाश चौधरी भन्छन्, “यो यस्तो सीप हो, जुन घरमै बसेर पनि गर्न सकिन्छ । फुर्सदको समय सदुपयोग गर्न मिल्ने हुँदा घरधन्दासँगै आम्दानीको माध्यम बन्न सक्छ ।” यस्तै वडाअध्यक्ष नेत्रप्रसाद बेल्वासे पनि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर आयमूलक कार्यमा महिलाहरू अघि बढ्न थालेको देखेर उत्साहित छन् । यस सीपले स्थानीयहरूलाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गर्दै तालिमले उनीहरू सिपसँगै स्वरोजगारमा लाग्ने उनले बताए ।

यता शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारु भन्छिन्, “स्रोतसाधनको प्रयोग र सिपको सदुपयोगमार्फत महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने हाम्रो उद्देश्य हो । यी सीपहरू पुस्तान्तरण गरिनु आवश्यक छ, अनि व्यावसायिक स्तरमा पनि अगाडि बढ्नुपर्छ ।” यस्ता तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर मात्रै होइन, समाज परिवर्तनको प्रेरणादायी पात्र बन्ने उनको दाबी छ ।

तालिममा सिकेका सीपले आम्दानी र रोजगारीसँग जोड्ने बताउँदै सीप पुस्तान्तरण समेत गर्न उनले आग्रह समेत गरेकी छन् । आत्मनिर्भर भएर व्यावसायिक तवरले यस पेसालाई विस्तार गर्ने बताउँदै केन्द्र स्तरसम्म माग रहेकोले प्रभावकारी रूपमा यसमा निरन्तरता दिनुपर्ने उनले जोड्दिइन् ।

ढकिया बनाउने थारु समुदायको पुर्खौली सीप हो । तर, पछिल्लो समय लोप हुँदै गएको स्थानीय सुस्मा थारु बताउँछिन् । त्यही सीप यति बेला पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको उनले चिन्ता व्यक्त गर्दै थारुले भनिन् “म थारु हो तर मलाई ढकिया बनाउन आउँदैन” । पुर्खाको पहिचान बोकेको तर आजको पुस्ताले बिर्सन थालेको एक मौलिक सीप—ढकिया बनाउने कला—उनका लागि केवल सुनेको कुरा थियो । तर अब त्यो कुरा उनको हात र मन दुवैको अभ्यासमा परिवर्तन हुँदै छ ।