© २०२३
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा प्राविधिक शिक्षा राष्ट्रको समृद्धिको मेरुदण्ड मानिन्छ । युवा जनशक्तिलाई दक्ष र उत्पादनशील बनाउन प्राविधिक शिक्षा अत्यन्त महत्वपूर्ण र उपयोगी छ । सीपमुखी, व्यावसायिक तथा व्यवहारिक शिक्षाले विद्यार्थीलाई विशेष दक्षता तथा सीपको विकास गराउँछ भने यस्तो शिक्षा अध्ययन पश्चात विद्यार्थीहरू रोजगारी वा स्वरोजगारमा लाग्न सक्षम र दक्ष भई आत्मनिर्भर हुन्छन् । आजको २१ औँ शताब्दीमा राष्ट्रको विकासको मेरुदण्ड भनेकै दक्ष जनशक्ति हो । त्यसैले अब परम्परागत किताबी ज्ञान मात्रै होइन, व्यवहारिक सीप, प्राविधिक दक्षता र नविनतम सोच आवश्यक बनिरहेको छ । यही आवश्यकता पूरा गर्न प्राविधिक शिक्षा सम्भावनाको नयाँ र सबल बाटो बनेको छ । नेपालको प्राविधिक शिक्षा र व्यवसायिक तालिम प्रणालीलाई विकास, नियमन र प्रवद्र्धन गर्न वि.सं. २०४५ सालमा नेपाल सरकारद्वारा स्वायत्त संस्थाको रूपमा स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि) मार्फत सञ्चालन गरिएका विभिन्न छोटो तथा लामो प्राविधिक कार्यक्रमहरूबाट उर्तिण भएका विद्यार्थीहरूमध्ये करिब ६० प्रतिशत युवाहरू रोजगारमा वा स्वरोजगारमा संलग्न छन् । राष्ट्रिय तथ्यांक (नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वे २०२२–२३) ले नेपालको कुल बेरोजगारी दर १२.६० प्रतिशत देखाएको छ भने विगत पाँच वर्षमा १.२% ले वृद्धि भएको र युवाहरूमा बेरोजगारी दर अझै उच्च रहेको प्रतिवेदन प्रस्तुत गरेको छ ।
विशेष गरी युवाहरूमा बेरोजगारी अझै भयावह बन्दै गएको छ । जसले देशको समग्र विकासमा चुनौती खडा गरिरहेको छ । यस्तो अवस्थामा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेर योग्य, सक्षम र उत्पादनशील जनशक्ति निर्माण गर्नु समयको माग हो । सूक्ष्म, लघु र घरेलु उद्यमको प्रवद्र्धन, निजी क्षेत्रसँग सहकार्य, र रोजगारी सिर्जनाका अवसर विस्तार गर्नु आवश्यक छ । साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटि) जस्ता संस्थाहरूको संरक्षण, सुदृढीकरण र पहुँच विस्तार गर्नु बेरोजगारी न्यूनीकरणको महत्वपूर्ण आधार बन्न सक्छ । प्राविधिक शिक्षाले थोरै खर्चमा ठूला सम्भावनाहरू जन्माउँछ । विशेषगरी मध्यम तथा न्यून आय भएका परिवारका युवाहरूका लागि यो उज्यालो भविष्यको कुञ्जी सावित हुन सक्छ । अब राज्यले शिक्षा नीतिको केन्द्रमा व्यवहारिक सीपलाई राख्दै युवालाई केवल रोजगार खोज्ने होइन, रोजगारदाता बन्न प्रेरित गर्नुपर्ने समय आएको छ । स्वास्थ्य, कृषि, सूचना प्रविधि, इन्जिनियरिङ, होटल व्यवस्थापनजस्ता क्षेत्रमा दक्षता हासिल गरी देशमै अवसर सिर्जना गर्न सकिन्छ । स्वरोजगारको सम्भावना र आत्मनिर्भरताको आधार बनेको प्राविधिक शिक्षा नै अब हाम्रो भविष्यको मूल जग हो भन्नेमा कुनै शंका छैन । जवसम्म अरूको भर नपरी आफुमा कुनै सिपयुक्त ज्ञान हुन्छ, तबसम्म आत्मनिर्भर बन्न सकिन्छ । अर्थात जब व्यक्तिमा आफैंसँग कुनै सीप, दक्षता वा ज्ञान हुन्छ, तब उसले अरूको भर पर्नुपर्दैन र उसले आफैंले आफनो जीवनयपान अगाडि बढाउन सक्छ।
आजको प्रतिस्पर्धात्मक विश्वमा दक्ष जनशक्ति प्रत्येक क्षेत्रमा अनिवार्य भएको छ — चाहे त्यो स्वास्थ्य सेवा, सूचना प्रविधि, निर्माण,पर्यटन, कृषि वा औद्योगिक उत्पादन किन नहोस् । नेपालमा औद्योगिक विकास, पूर्वाधार निर्माण, सूचना प्रविधिको विकास जस्ता क्षेत्रमा दक्ष जनशक्तिको कमी महसुस गरिएको छ भने प्रविधि प्रयोग गर्ने संस्था, अस्पताल, निजी कम्पनी तथा सरकारी निकायहरू दक्ष व्यक्तिको खोजीमा छन् । साथै विदेशमा कोरिया, जापान, युरोप र अष्ट्रेलियामा नेपाली दक्ष कामदारहरूको अत्यधिक माग छ । विशेषगरी स्वास्थ्य सेवा, निर्माण, कृषि, र प्रविधि क्षेत्रमा वैदेशिक रोजगारीको अवसर छ । युवाहरूलाई सिपमूलक शिक्षासँग जोड्दै दक्ष जनशक्ति उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले यस वर्षदेखि प्रवेश परीक्षा नलिई माध्यमिक शिक्षा परीक्षा (एसईइ) को ग्रेड प्वाइन्ट एभरेज (जिपिए) को आधारमा भर्ना गर्ने निर्णय गरेको छ । यो पहलले युवाहरूलाई व्यवहारिक ज्ञानमार्फत आत्मविश्वासी, रोजगारमुखी र नवप्रवर्तनशील बन्न प्रेरणा दिनेछ । जब शिक्षा सरल र समावेशी बन्छ, तब समाजले नयाँ युगमा पाइला टेक्छ—जहाँ सीप नै शक्ति र प्रगतिको आधार हो । सीपमूलक तथा प्राविधिक शिक्षाको पहुँचलाई सरल र समावेशी बनाउने उद्देश्यले गरिएको यो निर्णयले विद्यार्थीहरूलाई अतिरिक्त प्रवेश परीक्षाको झन्झटबाट मुक्त गर्दै सिधै इच्छा अनुसारका विषयमा नाम लेखाउने अवसर प्रदान गर्नेछ । यसबाट ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूलाई पनि प्राविधिक शिक्षा तर्फ आकर्षित गरिने अपेक्षा गरिएको छ । यो पहलले युवाहरूलाई व्यवहारिक ज्ञानमार्फत आत्मविश्वासी, रोजगारमुखी र नवप्रवर्तनशील बन्न प्रेरणा दिनेछ । जब शिक्षा सरल र समावेशी बन्छ, तब समाजले नयाँ युगमा पाइला टेक्छ—जहाँ सीप नै शक्ति र प्रगतिको आधार हो ।
व्यवहारिक सीपः भविष्यको जग
प्राविधिक शिक्षाले युवाहरूलाई केवल किताबी ज्ञान होइन, उनीहरूको सीपमा आधारित व्यवहारिक तालिम प्रदान गर्छ । स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, होटल व्यवस्थापनजस्ता क्षेत्रमा प्राविधिक शिक्षा लिएर धेरै युवाहरू आफ्नै देशमै आत्मनिर्भर बन्न थालेका छन् । आजका युवाहरूले इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, स्वास्थ्य र होटल व्यवस्थापनजस्ता क्षेत्रमा व्यवहारिक ज्ञान हासिल गरी आफूलाई आत्मनिर्भर बनाइरहेका छन् । यो सीपले उनीहरूलाई रोजगारी खोज्ने होइन, सिर्जनशील समेत बनाइरहेको छ । आफ्नो देशमै केही नयाँ गर्ने, आफनै पौरखमा भरोसा गर्ने संस्कार यो शिक्षाबाट विकसित हुँदैछ । प्राविधिक सीप भनेको केवल पेशा मात्र होइन, भविष्य निर्माणको जग हो—जहाँ आत्मविश्वास, सृजनशीलता र योगदानको भावना एकसाथ हुर्किन्छ । आजको युगमा व्यवहारिक सीपले मात्र सफलता सम्भव छ भन्ने तथ्य युवाहरूले बुझ्न थालेका छन्, र यही बोधले उनीहरूलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराइरहेको छ । एसईईपछि तीन वर्षे डिप्लोमा वा १८ महिने प्रमाणपत्र तहको पाठ्यक्रम पूरा गरेका विद्यार्थीहरू सजिलै रोजगारीमा जान सक्ने अवस्था छ । खासगरी ग्रामीण तथा दुर्गम भेगमा स्वास्थ्य सहायक (एच.ए., फार्मेसी लगायतका पेशामा माग उच्च छ । प्राविधिक शिक्षाले विदेश रोजगारीको अवसर खोजिरहेका युवाहरूलाई आवश्यक सीप प्रदान गर्ने भएकाले उनीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा पनि प्रतिस्पर्धी बन्न सक्छन् । खासगरी सूचना प्रविधि, स्वास्थ्य, निर्माण तथा कृषि जस्ता क्षेत्रमा प्राविधिक दक्षता प्राप्त युवाहरूको माग विश्वभर बढेकोले नेपालका लागि अवसरको खानी बन्न सक्ने छ ।
नवपर्वतन र उद्यमशीलताः
प्राविधिक शिक्षाले केवल जागिरको बाटो मात्र होइन, व्यवसाय र उद्यमशीलताको ढोका पनि खोलिदिन्छ । सीप भएको व्यक्ति आफूले साना उद्योग खोल्न सक्छ, सेवामूलक संस्था सञ्चालन गर्न सक्छ वा कृषि उद्यमी बन्न सक्छ । यो आत्मनिर्भर समाज र अर्थतन्त्रको लागि अति आवश्यक पाटो हो । प्राविधिक शिक्षा केवल जागिर पाउने उपाय मात्र होइन, व्यवसाय र उद्यमशीलताको उज्यालो ढोका समेत हो । सीपयुक्त युवा आफ्नै क्षमता र ज्ञानको भरमा साना या ठूला उद्योग स्थापना गर्न सक्छन्, सेवामूलक संस्था सञ्चालन गर्न सक्छन्, वा आधुनिक कृषि प्रणालीमार्फत सफल उद्यमी बन्न सक्छन् । जब युवामा व्यवहारिक ज्ञान र सीप हुन्छ, तब उनीहरूलाई विदेश जानुपर्ने बाध्यता हुँदैन । यदि जानै परेपनि उनीहरू आफ्नै पेशासँग सम्बन्धित मर्यादित र सम्मानजनक रोजगारीमा जान सक्छन् । सीपयुक्त युवाहरू केवल श्रमिक होइनन्, दक्ष जनशक्ति हुन्, जसले संसारका जुनसुकै कुनामा पनि आफनो प्रतिभा कुशलतापूर्वक देखाउन सक्छन् । प्राविधिक शिक्षाले आत्मनिर्भरता, आत्मविश्वास र सशक्त भविष्यको ढोका खोलिदिन्छ । त्यसैले व्यवहारिक सीपले युवाहरूको मात्र होइन, राष्ट्रको पनि समृद्धि सुनिश्चित गर्छ । यस्ता सीपहरूले आत्मनिर्भर समाज र समृद्ध अर्थतन्त्रको निर्माणमा ठूलो भूमिका खेल्छन् । त्यसैले आजको आवश्यकता भनेको प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी, प्रत्येक युवालाई सक्षम र सशक्त बनाउनु हो ।
प्राविधिक जनशक्तिको मागः
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) द्वारा सन् २०२२ मा गरिएको श्रमबजार विश्लेषणमा आधारित प्रक्षेपण अनुसार सन् २०३० सम्म स्वास्थ्य, कृषि, निर्माण, पर्यटन लगायतका क्षेत्रमा लाखौं दक्ष जनशक्तिको आवश्यकता पर्नेछ । विशेषगरी कृषिमा ६ लाखभन्दा बढी, निर्माण क्षेत्रमा ६ लाखभन्दा बढी, स्वास्थ्य क्षेत्रमा १ लाख र पर्यटन क्षेत्रमा २ लाख जनशक्ति आवश्यक पर्ने देखाइएको छ । यसले स्पष्ट गराउँदछ कि व्यवहारिक सीपयुक्त शिक्षामा आधारित प्राविधिक शिक्षा समयको माग हो । यदि युवाहरूले समयमै सही तालिम र दक्षता हासिल गरे भने उनीहरूले स्वदेशमै रोजगारीका भरपुर अवसर प्राप्त गर्न सक्नेछन् । साथै यो मागलाई सम्बोधन गर्न सरकारले प्राविधिक शिक्षाको पहुँच, गुणस्तर र सम्बन्धित तालिम कार्यक्रमहरूको प्रभावकारिता बढाउन थप आवश्यक छ । प्राविधिक शिक्षा अब वैकल्पिक विकल्प होइन, जीवनको अनिवार्य आवश्यकता बनिसकेको छ । यो शिक्षाले युवाहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी, व्यवहारिक सीप र व्यावसायिक दक्षतामा पारंगत बनाउँछ । आजको प्रतिस्पर्धात्मक युगमा सफलता प्राप्त गर्न प्राविधिक ज्ञान अपरिहार्य छ । यसले युवाहरूलाई आत्मनिर्भर बनाउनुका साथै देशभित्रै रोजगारीका अवसर सिर्जना गर्छ । पछिल्लो समयको प्राविधिक शिक्षा प्रणालीले एकेडेमिक शिक्षामा पनि व्यवहारिकता र रोजगारीमुखी पाटोलाई प्राथमिकता दिइरहेको छ । जसले दीर्घकालीनरूपमा उत्पादनशील जनशक्तिको विकासमा टेवा पु¥याउँछ । प्राविधिक शिक्षामार्फत सशक्त युवा शक्ति तयार हुँदैछ ।जसले समृद्ध राष्ट्र निर्माणको आधार मजबुत बनाउँदै छ ।