© 2026
बुटवल, १३ जेठ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सङ्कलन केन्द्र (ब्लड बैंक) बन्ने भएको छ । केन्द्र स्थापनाका लागि सोमबार सहमति पत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार सङ्घको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त सङ्कलन केन्द्र सञ्चालन गरिने भएको हो ।
रक्त सङ्कलन केन्द्र स्थापनाका लागि अस्पतालको तर्फबाट विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, वरिष्ठ प्रशासकीय प्रमुख राजन केसी तथा वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेले हस्ताक्षर गरेका छन् भने व्यापार सङ्घको तर्फबाट अध्यक्ष दिपक अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव फर्सुराम पन्त, कार्यकारी प्रमुख सरोज पोखरेलले हस्ताक्षर गरेका छन् ।
अस्पतालमा रक्त सङ्कलन केन्द्र स्थापनासँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले बताए । अस्पतालमा सेवा स्थापना भन्दा पनि यसको दिगो सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको निरन्तरताका लागि दोस्रो पक्ष (व्यापार सङ्घ) ले पनि दीर्घकालीन योजना र सोच तयार पार्न आग्रह गरे ।
यसै गरी रुपन्देही व्यापार सङ्घका अध्यक्ष अधिकारीले जनसेवाका लागि सङ्घले अस्पतालसँग सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै रक्त सङ्कलन केन्द्रको स्थायित्वका लागि पनि आफूहरूले सधैँ ध्यान दिने उल्लेख गरे । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. ढकालले रक्त सङ्कलन केन्द्र स्थापनाले सेवाग्राहीलाई उपचारमा सहज हुने बताए । विगतमा अस्पतालसँग सहकार्य गरिरहेको रक्त सञ्चार केन्द्र बुटवलको भूमिकालाई पनि भुल्न नहुने उल्लेख गर्दै उनले नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहयोग अपरिहार्य रहेको बताए । अस्पतालमा स्थापना गरिने रक्त सङ्कलन केन्द्रका लागि रुपन्देही व्यापार सङ्घले उपकरण उपलब्ध गराएको छ भने यसको सञ्चालन अस्पतालले गर्ने वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीले बताए । अस्पतालमा हाल मासिक ३ सय युनिट बढी रगतको माग हुँदै आएको विगतका तथ्याङ्कमा रहेको उनले जानकारी दिए ।