© २०२३
काठमाडौँ ।
प्रतिनिधिसभाको मङ्गलबार बिहान साढे ११ बजे सुरु भएको बैठक विपक्षी दलहरूको नाराबाजीका कारण स्थगित भएको छ। गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि बैठक सुरु भएको केही समयमै अवरुद्ध भयो।
भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान कायमै रहेको छ। बैठक स्थगनको सूचना सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सदनमै बोलेर छानबिन समिति नबनाएसम्म संसद् नचाल्ने चेतावनी दिएका थिए। त्यसपछिको अवरोधले बैठक आधा घण्टाका लागि स्थगित गरिए पनि अन्ततः दिउँसो २:३० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो। विपक्षी दलहरूको निरन्तर विरोधका कारण संसद् अवरुद्ध हुन थालेको यो पछिल्लो घटनाक्रम हो।