© २०२३
बुटवल, १२ जेठ । विद्यालयस्तरमा विद्यार्थीहरुलाई उत्साह र प्रवधर्नसंगै ब्यवसायिक अनुभुतिको अवसर दिन लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । प्यारामाउण्ट क्रिकेट कमिटिको आयोजनामा जेठ २६ गतेबाट प्यारामाउण्ट क्रिकेट लिग २०८२ हुने भएको हो ।
सोमबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि क्रिकेट खेलको आकर्षणलाई मध्येनजर गरि युवा प्रतिभा प्रस्फुटन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको प्यारामाउण्ट क्रिकेट कमिटिका अध्यक्ष तथा भ्वाइ प्रिन्सिपल गोपाल ज्ञवालीले बताए । विद्यालयस्तरमा अक्सन सहितको टि–ट्वान्टी लिग यस क्षेत्रमा पहिलोपटक गर्न लागेको उनले बताए । सिद्घार्थनगर क्रिकेट रंगशालामा जेठ २६ गतेदेखि २९ गतेसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी हुने छन । प्यारामाउण्ट बोल्ड (द गेम चेन्जर), प्यारामाउट गोर्खाज (फियर नन), प्यारामाउण्ट किङ्ग (बर्न टु रुल), प्यारामाउण्ट रोयल (रुल द गेम) रहेका छन ।
कार्यक्रममा खेल संयोजक सुरज बश्यालले विश्व परिवेसमा नै क्रिकेट खेल र खेलाडीलाई ब्यवसायिक बनाउने प्रचलन रहेको भन्दै विद्यालयस्तरमा लिग फरमेटमा चार टिम बिच प्रतियोगिता गर्न लागेको बताए । प्रतियोगितामा ६ वटा गेम राउण्ड रोबिन लिग र एउटा फाईनल गरि ७ खेल हुनेछ । प्रतियोगितामा सहभागी हुन २ सय फर्म दर्ता भएको छ । १६ गते साझ खेलाडीहरुको सुचि आउने र १७ गते अक्सन गरिने छ । २० देखि २४ सम्म बन्द प्रशिक्षण राखिने छ ।
प्यारामाउण्टका ६ देखि १२ कक्षाका विद्यार्थीहरुले भाग लिन पाउने छन । प्रत्येक टिमले १५ जना खेलाडी किन्न पाउछन । चार टिमका ४ जना मार्कि खेलाडी तोकिएको छ । कपिलबस्तु, नवलपरासी जिल्लाका साथै भारतका विद्यालयका खेलाडीहरुलाई विदेशी खेलाडीका रुपमा अक्सनमा छानिने छन । प्रत्येक टिममा चार क्याटगरी छन । जसमा गोल्ड, सिल्भर, ब्राउन्च, फरेन क्याटगरी रहने छन । प्रत्येक टिममा अन्य विद्यालयबाट समेत ५–६ जना खेलाडीहरु राख्न पाउने प्रावधान रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्लेयर अफ टुर्नामेन्टलाई १५ सय, उत्कृष्ट ब्याट्सम्यान, बलरलाई १ हजार तथा प्लेयर अफ म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रममा नेपालका राष्ट्रिय टिमका सहायक प्रशिक्षक बसन्त शाहीले खेल विकास र बिस्तारमा प्रतियोगिता सहयोगि हुने बताए । लिग अक्सन आधारमा पहिलोपटक सानै भएपनि राम्रो शुरुवात भएको बताए । यो लिग आगामी दिनमा अझ उत्कृष्ट र निरन्तरता दिन जरुरी रहेको भन्दै आगामी दिनमा वृहत बनाउने गरि आयोजना गर्न सुझाव दिए ।
विधालयस्तरको प्रतियोगिता नै खेलको जग भएको भन्दै उनले प्यारामाउण्ट विद्यालयबाट उत्कृष्ट काम गरेको बताए ।
कार्यक्रममा विधालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्ण प्रसाद सापकोटाले नया समयसापेक्ष अनुसारको शिक्षा प्रदान गर्न विद्यालय सफल हुने गरि निरन्तर लागेको बताए । शिक्षासंगै खेलकुदमा समेत क्रियाशिल बनाउदै उत्कृष्ट खेलाडी जन्माउने पुण्यकाममा ब्यवस्थापन समिति लागेको उनले बताए ।
प्रतियोगिताको स्पोन्सर लुम्बिनी सिटि कलेजका अध्यक्ष गणेश पाठक, फष्ट स्टेप अमित पौडेल, किङ्ग कलेजका विष्णु पौडेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य होम प्रसाद सापकोटा, विद्यालयका प्रधानाध्यापक दामोदर भुषालले शुभकामना दिए । गतवर्ष ई प्लानेटको आयोजनामा भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेटमा प्यारामाउण्ट विजेता रहेका थिए ।