गाजा ।
गाजा क्षेत्रमा जारी युद्धका कारण त्यहाँको कृषि भूमि लगभग पूर्णरूपमा नष्ट भएको छ। संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार अहिले गाजामा जम्मा चार दशमलव ६ प्रतिशत मात्र खेतीयोग्य भूमि प्रयोग गर्न सकिने अवस्थामा छ।

एफएओले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अप्रिलको अन्त्यसम्म ८० प्रतिशतभन्दा बढी कृषि भूमि क्षतिग्रस्त भइसकेको छ। अहिले जम्मा ६८८ हेक्टर (झन्डै १,७०० एकड) भूमि मात्र खेतीका लागि प्रयोगयोग्य रहेको छ।
एफएओका उपमहानिर्देशक बेथ बेचडोलका अनुसार खेतीयोग्य जमिन, हरितगृह र पानीका स्रोतहरू पूर्ण रूपमा नष्ट भएपछि गाजामा स्थानीय खाद्य उत्पादन ठप्प भएको छ। यसले गाजा क्षेत्रमा भोकमरी र खाद्य संकट थप चर्किने सङ्केत देखिएको छ।
युद्ध सुरू हुनु पूर्व गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान झन्डै १० प्रतिशत थियो, र करिब ५ लाख ६० हजार मानिस कृषि, पशुपालन र माछापालनमा आश्रित थिए।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी रूपमा गाजामा सैन्य कारबाही सुरू गरेको थियो, जसले तीन महिनासम्म पूर्ण नाकाबन्दी ल्यायो। हाल केही राहत सामग्री गाजामा प्रवेश गर्न थाले पनि खाद्य र औषधिको आपूर्ति अझै पनि अत्यन्तै सीमित रहेको बताइएको छ।
यो परिस्थितिले गाजावासीको जीविकोपार्जन, स्वास्थ्य तथा भविष्यमा दीर्घकालीन खाद्य सुरक्षामा गम्भीर असर पार्ने प्रस्ट देखिएको छ।



