© २०२३
मौसमविद्हरूले यही जेठ १८ देखि असोज १४ सम्मको मनसुन अवधिमा नेपालमा ३० वर्षयताकै धेरै वर्षा हुने भविष्यवाणी गरेका छन् । जसका कारण २० लाख नेपाली प्रभावित हुने र नेपालका अधिकांश भू–भागमा ठुलो प्राकृतिक क्षति पुग्न सक्ने अनुमान गरिएको छ । तराईमा डुबान र बाढीको जोखिमसँगै उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरूको चेतावनी छ । नेपाल सरकारले मौसमविद्हरूले पूर्व खबरदारी गरेका छन् तर अहिलेसम्म जोखिम नियन्त्रणमा पूर्व तयारीका काम भने सुरु हुनै सकेको छैन । विज्ञहरूको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्व तयारीका कामहरू व्यवस्थित गर्नु जरुरी छ । मनसुनी असरले पार्ने समस्या न्यूनीकरणमा सरोकारवाला निकाय मात्र नभई आम नागरिकको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण हुने छ । ३० वर्ष यताकै धेरै वर्षा हुने मौसमविद्हरूको भनाइले नेपालमा मानवीय क्षति बढ्न सक्ने पूर्वानुमान माझ त्यत्तिकै रूपमा सचेतनाका कार्यक्रम गर्नु जरुरी छ । यो वर्ष मनसुनमा औसतभन्दा बढी पानी पर्ने भएपछि प्राकृतिक प्रकोपको जोखिम बढ्ने अवस्था नेपाल सरकारले पूर्व तयारीको कामलाई प्रभावकारी बनाउनु जरुरी छ ।
पानी धेरे पर्दा हिमाली र पहाडी भेगमा पहिरो जाने तथा तराईमा बाढीको उच्च जोखिम हुने मौसमविद्हरूले चेतावनी दिएका छन् । यसै पनि ३० वर्षयताकै धेरै पानी पर्ने मौसमविद्को प्रक्षेपणले बाढी पहिरोको चुनौती बढ्ने खतरा छ । सरकारले मनसुनजन्य विपद्बाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न पूर्व तयारी गर्नुपर्ने हो तर अहिलेसम्म त्यसतर्फ सरकारको तयारी छैन । मन्त्रालयमा आयोजना हुने कोठे बैठकले समस्या न्यूनीकरण हुन सक्दैन । सरकारी पदाधिकारीहरू अहिलेसम्म वर्षा याममा हुन सक्ने विपद्को लागि पूर्व तयारी खासै केही नभएको बताउँछन् । मनसुनी प्रकोपको पूर्व तयारी गरेर विपद् सामना गर्न सङ्घीय, प्रदेश र पालिकाहरूले तयारी गर्नुपर्ने हो । तर, अहिलेसम्म अन्तरक्रियाका कार्यक्रम बाहेक ध्यान दिएको देखिएको छैन । त्यसो त अहिले बिपीजन्य घटनाको पूर्वानुमान धेरै मिल्न थालेको छ । त्यस कारण बाढी, पहिरो लगायतको प्राकृतिक प्रकोपबाट बच्न धेरै हदसम्म सजिलो पनि छ तर पूर्व तयारी गरिएन भने जोखिम कायमै रहने हुनाले प्राकृतिक जोखिम पूर्व तयारीमा ध्यान दिनु जरुरी छ ।
विगतमा पनि विपथजन्य घटनाबाट हुनसक्ने क्षति कम गर्न पूर्व सूचना प्रणालीको अभ्यासले सहयोग पु¥याएको हो । त्यसैले मौसम पूर्वानुमान विश्लेषण अध्ययन गरी जोखिम क्षेत्रका पालिकालाई सहभागी गराएर सूचना प्रवाहको दायरा बढाउँदै लग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको योजना छ । यस पटक उच्च हिमाली क्षेत्रमा पनि औसतभन्दा बढी वर्षा र खास गरी कर्णाली प्रदेशको उत्तरी भाग र सुदूरपश्चिम प्रदेशको उत्तरी भाग, लुम्बिनी प्रदेशको उत्तरी भागका साथै गण्डकी प्रदेशको पनि उत्तरी भागमा औसतभन्दा बढी तापक्रम पनि हुने भनिएको छ । त्यसमाथि लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुने आङ्कलन गरिएको छ । यसबाट लुम्बिनी प्रदेशले विपद् न्यूनीकरणमा अहिलेदेखि नै योजना र कार्यक्रम बनाएर अघि बढ्नु जरुरी छ ।
अबको दिनमा बाढी पहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरूलाई पूर्वसचेत गराउन सावधानीका सूचकहरू प्रयोग गर्नु जरुरी छ । प्राकृतिक प्रकोप व्यवस्थापन पद्धति अनुरूप आवश्यक पूर्व तयारी एवं पूर्व सावधानीसहितको कार्य योजना तत्काल बनाउन, उद्धारलगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, एक्स्काभेटर सहितका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरू तयारी अवस्थामा राख्नेतर्फ सरकारको ध्यान जाओस् । अव समय आइसकेकोले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणको लागि पूर्व तयारीमा ध्यान दिन ढिलाइ गर्नु हुँदैन । राज्यका तिनै तहले रणनीतिक योजना बनाउनेतर्फ लाग्न ढिलाइ नगरुन् ।