© 2026
बुटवल, १२ जेठ । नेशनल प्याब्सन रुपन्देहीले जिल्लाभरका निजी विद्यालयका प्रधानाध्यापकहरूका लागि एक दिने तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । रुपन्देहीको कोटिहवास्थित टाइगर प्यालेसमा आयोजना गरिएको कार्यक्रममा प्रसिद्ध मोटिभेसनल प्रशिक्षक विदुर फुँयालले तनाव व्यवस्थापनका व्यवहारिक विधिबारे प्रशिक्षण दिए । उनले वर्तमान शिक्षा प्रणालीमा प्रधानाध्यापकहरूले भोग्ने मानसिक दबाब, व्यवस्थापनका चुनौती र समाधानका उपायहरूबारे अन्तरक्रियात्मक शैलीमा सहजीकरण गरे । ‘तनाव व्यवस्थापन भनेको समस्या नहुनु होइन, समस्यासँग कसरी स्वस्थ तरिकाले व्यवहार गर्ने भन्ने हो ।’– उनले भने । एक जना शिक्षकमै शान्त मन र सकारात्मक सोच भयो भने त्यो विद्यालयको समग्र वातावरणमै सकारात्मक प्रभाव पार्ने उनको तर्क छ ।
बैठकमा नेशनल प्याब्सनका केन्द्रीय सल्लाहकार राजु गुरुङ, केन्द्रीय महासचिव विष्णु पौडेल, केन्द्रीय सचिव बालाकृष्ण तिवारी, केन्द्रीय सदस्य पुरुषोत्तम बस्याल र बिल गुरुङ, सचिव अमित यादवलगायतले बोल्दै निजी क्षेत्रबाट राष्ट्रको शैक्षिक विकासमा नेशनल प्याब्सन सदैव लागिपरेको बताउँदै अब पनि आइपरेका चुनौतीहरुको सामना गर्दै शैक्षिक विकासमा उत्साहका साथ लाग्नुपर्ने बताए ।
बैठकले असार ६ गते लुम्बिनीमा चित्रकला, कविता लेखन र वाचन प्रतियोगिता आयोजना गर्ने निर्णय भएको जिल्ला अध्यक्ष बाबुराम बन्जाडेले बताए । साथै विषयगत शिक्षक तालिम र प्रधानाध्यापकहरूका लागि अध्ययन अवलोकन भ्रमण कार्यक्रम पनि अगामी दिनमा गरिने उनले बताए ।