Butwal Today

सेयर बजार ५.२१ अंकले घटेर २६७४ विन्दुमा झर्‍यो

१२ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौं, १२ जेठ।

सोमबारको सेयर बजार घटावटतर्फ उन्मुख रह्यो। नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४ विन्दुमा थामिएको छ। अघिल्लो दिन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सेयर कर्जामा लाग्दै आएको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याए पनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेन। लगानीकर्ताहरू आगामी बजेटप्रति सशंकित छन्, विशेषतः पूँजीगत लाभकर बढ्न सक्ने सम्भावनाले उनीहरूको मनोबल कमजोर बनाएको देखिन्छ।

बजारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा थोरै घटेको छ। अघिल्लो दिन ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ७ अर्ब ५८ करोडमा झरेको देखिन्छ। समग्रमा ९२ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ। सूचकमा बैंकिङ र उत्पादन तथा प्रशोधन समूहले मात्र थोरै सुधार देखाए पनि बाँकी सबै समूह घटेका छन्। विशेष गरी माइक्रोफाइनान्स समूह १.५० प्रतिशतले घट्दा अन्य समूहहरूमा पनि सानो प्रतिशतको गिरावट देखिएको छ।

कम्पनीगत रूपमा हेर्दा, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले उकालो लाग्यो। त्यसैगरी उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तका सेयर पनि क्रमशः ६.१९ र ४.३१ प्रतिशतले बढे। यता, गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घट्दा, बाराही हाइड्रोपावर र अभियान लघुवित्तले पनि क्रमशः ९.८५ र ३.९२ प्रतिशतको गिरावट ब्यहोरे। कारोबार रकमको आधारमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रपंक्तिमा रहे। बजार अनुकूल नीतिका बाबजुद लगानीकर्ताहरूको सतर्कता र बजेटप्रतिको अनिश्चितताले सेयर बजारलाई स्थायित्व दिन नसकेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?