© 2026
कपिलवस्तु , १२ जेठ ।
नेपाल भारत जन मैत्री सङ्गठन कपिलवस्तुको अध्यक्षमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का वरिष्ठ समाजसेवी ओंकारनाथ शुक्ला नियुक्त भएका छन् । सङ्गठनको जिल्ला शाखा रुपन्देहीमा आयोजित कार्यक्रममा सङ्गठनका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष अनुप कुमार सिंहले शुक्लालाई जिल्ला अध्यक्षमा नियुक्तिको पत्र हस्तान्तरण गरेका थिए । जिल्ला अध्यक्ष नियुक्त शुक्लाले जिल्लामा २५ सभा सदस्य सहित जिल्ला शाखाको गठन गरी समितिलाई पूर्णता दिने प्रावधान रहेको सङ्गठनका अन्तर्राष्ट्रिय कमिटीका महासचिव सम बहादुर थापाले जानकारी दिए ।

सङ्गठनको अन्तर्राष्ट्रिय कमिटीले कपिलवस्तु जिल्लालाई राष्ट्रिय कमिटीको २३ औँ जिल्ला शाखाको मान्यता दिएर अध्यक्षमा शुक्लालाई नियुक्त गरेको हो । २०६९ सालमा स्थापित सङ्गठनको अन्तर्राष्ट्रिय कमिटीको मुख्य कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । त्यसै गरी दुई देश मध्यको राष्ट्रिय कमिटीमा नेपालको कमिटीको अध्यक्षमा विराटनगरका प्रतिष्ठित व्यवसायी निर्मल दुग्गड छन् । भारतको राष्ट्रिय कमिटीमा झार खण्ड राज्यकी बिजेपी नेतृ श्रीमती अर्चना सिंह राष्ट्रिय अध्यक्ष रहेको सङ्गठनका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष अनुप कुमार सिंहले जानकारी दिए । सङ्गठनले नेपाल भारतको सीमा जोडिएको क्षेत्रका नागरिक लक्षित सामाजिक कार्य गर्नुका साथै धार्मिक, सांस्कृतिक, सीमा व्यापार सहजीकरण र कूटनीतिक क्षेत्रको समन्जञ्यतामा भूमिका निर्वाह गर्दै आएको अध्यक्ष सिंहले बताए । नेपालको २३ जिल्ला शाखा, कर्णाली र गण्डकी बाहेकका ५ प्रदेशमा प्रदेश कमिटी रहेको छ भने सङ्गठनको भारतको १५ राज्यमा स्टेट कमिटी रहेको सङ्गठनका अन्तर्राष्ट्रिय कमिटी सदस्य डा. सतिस उपाध्यायले बताए ।