© २०२३
काठमाडौं, ११ जेठ ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एकपटक आफ्नो चिरपरिचित शैलीमा प्रहार गर्दै अगाडि आएका छन्। आइतबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेलामा बोल्दै उनले सहकारी काण्डको सन्दर्भ तान्दै आरोप लगाए— “लुटेराहरू, ठगहरू नै अहिले हामीविरुद्ध औंला ठड्याउँछन्। हामीले पो सहकारी लुटेजस्तो गरिन्छ।”
उनको भनाइमा, सहकारी काण्डमा संलग्न रहेका मानिसहरू नै अहिले आफूलाई निर्दोष देखाउँदै उल्टै न्याय दिने भाषण गरिरहेका छन्। “नारा लगाउँछन्, आफूले खाएको फिर्ता गर्दैनन्, अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर निकाल्छन्— कति निर्लज्ज!” भन्दै ओलीले राजनीतिक व्यंग्यको झड्का दिए।
ओलीको आलोचना यतिमा मात्र सीमित रहेन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ पनि उनले प्रहार गरे। “प्रचण्डको स्वर त हेर्नुस्— भ्रष्टाचारविरुद्ध बुरुक बुरुक गर्छन्। तर भ्रष्टहरूले नै भ्रष्टाचारको भाषण गर्दा अचम्म लाग्दैन?” उनको व्यंग्य थियो।
एमालेको “जनसागर” सँग माओवादीको अभियान तुलना गर्दै ओलीले तर्क गरे कि माओवादीको मेची–महाकाली यात्रा जनसमर्थन विहीन देखिएको छ। “केही मान्छे भेला गरिसकेपछि फेरि २०६४ साल आउँछ भन्ने प्रचण्डलाई लागे पनि त्यो सपना हो। माओवादीमय देश अब फर्किँदैन,” उनले दाबी गरे।
२०६४ सालको निर्वाचनको सन्दर्भ उल्लेख गर्दै ओलीले ती दिनहरू “आतंक र बलजफ्ती” को उपज भएको तर्क गरे। “लडाकु क्याम्प, कुटपिट, अंगभंग, डर–त्रास फैलाएर जितेको हो त्यो चुनाव। माओवादीले राम्रो गरेर जितेको थिएन। अब न त्यो अवस्था आउँछ, न माओवादी,” ओलीको स्पष्ट सन्देश थियो।
राजनीतिक मंचमा उठेका यी तिखा टिप्पणीहरू आगामी दिनहरूमा सत्ता र विपक्षबीचको बहसलाई थप तातो बनाउने निश्चित छ।