© २०२३
काठमाडौं ,११ जेठ ।
गत १५ चैतमा राजावादी समूहद्वारा काठमाडौंमा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ। झण्डै दुई महिनासम्मको अनुसन्धानपछि काठमाडौं प्रहरी परिसरले उनीहरूमाथि अभियोग चलाउने आवश्यकता नरहेको ठहर गर्दै सरकारी वकिलको कार्यालयमा मुद्दा नचलाउने सिफारिस पठाएको हो।
उक्त प्रदर्शनमा संलग्न भएको आरोपमा ९० जना पक्राउ परेका थिए भने १८ जना फरार रहेका थिए। पक्राउ परेकाहरूमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी अभियोगहरूमा मुद्दा दायर गरिएको छ। एक सुरक्षा अधिकारीका अनुसार संलग्नताको आधारमा फरक-फरक मुद्दा अगाडि बढाइएको छ, र दुर्गा प्रसाईंविरुद्ध भने कर्तव्य ज्यानसमेतको मुद्दा चलाइएको छ।
प्रहरीले अनुसन्धान प्रतिवेदन रायसहित गत बिहीबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सो प्रतिवेदनको अध्ययनपछि आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरिएको सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले जानकारी दिए।
उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका राप्रपाका नेता धवलशमशेर राणा, र विवेकशीलका पूर्वअध्यक्ष रवीन्द्र मिश्र हाजिर जमानतमा रिहा भइसकेका छन्। चैत १५ गतेको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो, जसमा दुई जनाको मृत्यु र २० जनाभन्दा बढी घाइते भएका थिए।
घटनापछि फरार भएका प्रमुख अभियुक्त ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याएको हो।