Butwal Today

सिंहदरबारमै विरोध: निजामती कर्मचारीको विधेयकविरुद्ध आन्दोलन

११ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ११ जेठ ।

प्रस्तावित निजामती सेवा विधेयकमा समावेश केही प्रावधानप्रति गहिरो असहमति जनाउँदै आइतबार निजामती कर्मचारीहरू राजधानीको सिंहदरबार परिसरमै उत्रिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि गरिएको विरोध प्रदर्शनमा सहभागी कर्मचारीहरू सरकारले ल्याउन खोजेको विधेयक कर्मचारीविरोधी भएको भन्दै आक्रोशित देखिए।

विरोधको केन्द्रमा रहेको विधेयकमा वृत्ति विकास, बढुवा, सरुवा र सेवासुविधाको विषयमा स्पष्टता नहुनु, र कतिपय प्रावधानले कर्मचारीको हक कटौती गर्ने चिन्ता उठाइएको छ। नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालका अनुसार, पाँच वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीलाई एक तह बढुवा र दश वर्ष नाघेकालाई एक श्रेणी वृद्धि गरिनुपर्ने माग मुख्य रूपमा उठाइएको छ। साथै, शाखा अधिकृतको हकमा पाँच वर्षपछि खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने पुरानो व्यवस्था कायम राख्नुपर्नेमा जोड दिइएको छ। ‘सरकारको अकर्मण्यताका कारण अब त्यो अवधि सात वर्ष पुर्याइएको छ, जुन हामीलाई स्वीकार्य छैन,’ कटुवालले स्पष्ट रूपमा भने।

त्यस्तै, कर्मचारीहरू अन्तरप्रदेश सरुवा व्यवस्था हुनुपर्ने माग गर्दै मैदानमा उत्रिएका छन्। ‘मेचीका कर्मचारी दार्चुलामा सेवा दिँदैछन्, उनीहरूले घर फर्किने अवसर नपाउनु अन्याय हो,’ कटुवालको भनाइ थियो। उनीहरू संघ, प्रदेश र स्थानीय तहमा एउटै प्रकृयाबाट भर्ना भएका कर्मचारीलाई समान रूपमा समेट्नुपर्ने मागमा पनि एकताबद्ध देखिए।

११ बुँदे मागसहित उत्रिएका कर्मचारी युनियनहरू अबको दिनमा आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप चर्काउने चेतावनीसहित प्रस्तुत भएका छन्। सरकारले विधेयकलाई पुनः संशोधन गर्ने तयारी गर्छ कि आन्दोलन तीव्र हुन्छ, त्यो अबको राजनीतिक र प्रशासनिक समीकरणमा निर्भर हुनेछ।