© २०२३
नेपालगञ्ज, ११ जेठ ।
बाँके राष्ट्रिय निकुञ्जमा यस वर्ष ७ सय जना पर्यटकले अवलोकन गरेका छन् । ती सबै पर्यटक निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित होमस्टे मार्फत निकुञ्ज भित्र अवलोकन गरेका हुन् ।
गत साउनदेखि हाल सम्म आन्तरिक तथा बाह्य पर्यटक गरी जम्मा ७ सयको हाराहारीमा निकुञ्ज भित्र प्रवेश गरेर अवलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मन्दिप पंगेनीले बताए । शनिवार बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाहरुसँग गरिएको अन्तत्र्रिmया कार्यक्रममा उनले मध्यवर्ती क्षेत्रमा वनभोज लगायतका कृयाकलापमा ५० हजार बढी पर्यटक आउने गरे पनि (कोर एरिया) वन्यजन्तुको बासस्थान क्षेत्रमा भ्रमण गर्ने ७ सयको हाराहारीमा रहेको जानकारी दिए । त्यसमध्ये विदेशी पर्यटकको संख्या एकदमै न्यून रहेको उनको भनाई छ ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत विरेन्द्र प्रसाद कंडेलले बाघ संरक्षणमा सफलता हासिल गरेपनि पर्यापर्यटनको विकास हुन नसकेको बताए । निकुञ्जको तर्फबाट गर्न सक्ने २ सय किलोमिटर वन पथ निर्माण, घाँसेमैदान र कृत्रिम पानी पोखरीको व्यवस्था सँगै आहारा प्रजातिको संख्या वृद्धि गरेको उनको भनाई छ । उनले भने –‘हामीले गर्ने काम गरिसक्यौं अव पर्यापर्यटनको विकास होमस्टे तथा होटेल व्यवसाय सञ्चालकहरुले गर्नुपर्ने हो, त्यो सोंचे अनुरुप हुन सकिरहेको छैन ।’ मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई निकुञ्ज अवोकनमा ल्याउन सक्ने व्यवस्था होमस्टे तथा होटल व्यवसायीले गर्नुपर्नेमा उनले जोड दिए । पर्यटक घुमाउनका लागि होमस्टे तथा होटल व्यवसायीले प्रसस्त मात्रामा सफारी गाडीको ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए । उनले अहिले वन्यजन्तुको संख्यामा वृद्धि भएको दावी गरेका छन् । उनका अनुसार बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन २०२२ को सर्वेक्षण अनुसार बाँके राष्ट्रि«य निकुञ्जमा २५ वटा वयस्क बाघ रहेका छन् । साना डमरुको गणना नगरिएकाले हाल पाटे बाघको संख्या वृद्धि भएको हुनसक्ने उनको भनाई छ ।
विहानको समयमा जंगल सफारी गर्न आउने पर्यटकहरुले अन्य वन्यजन्तुसँगै बाघ हेरेरै जानुहुन्छ, – उनले भने ‘यसबाट बाँके राष्ट्रिय निकुञ्जमा करिव ३ बर्ष अगाडि गरेको सर्वेक्षण भन्दा संख्या बढेको सहजै अनुमान गर्न सकिन्छ ।’ अन्य संरक्षित क्षेत्रहरुमा नपाइने लोपोन्मुख वन्यजन्तु चौका पनि बाँके राष्ट्रि«य निकुञ्जमा धेरै संख्यामा देखिन थालेको उनले बताए ।
यस्तै स्तनधारी वन्यजन्तु ३४, चरा २ सय ७६, सरिसृप २४, उभयचर ९ र माछा ५५ गरी ४ सय २२ प्रजाति रहेका छन् । जसमा दुर्लभ र सामान्य गरेर समेत प्रजातिको विभाजन गरिएको छ । नेपालको १० औं राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको निकुन्जले सबै सरोकारवालाहरुसँग समन्वयात्मक रुपमा कार्य अगाडि बढाइएको पनि उनले बताए । निकुञ्ज संरक्षणमा अवैध चोरी शिकारी, मानव–वन्यजन्तुबिचको असमझदारी, वन डढेलो, अतिक्रमण, मिचाहा प्रजातिहरु, अव्यवस्थित पूर्वाधारको प्रभाव, सीमित उद्धार क्षमतालागायतका चुनौतीहरु रहेको उनको भनाई छ ।
यस्तै निकुञ्जका संरक्षण अधिकृत मन्दिप पंगेनीले बर्सेनि बजेट अभावमा निकुञ्जले अझै धेरै काम गर्न नसकेको बताए । उनका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा ४ सय हेक्टरको एउटा मात्र खैरी घाँसे मैदान रहेको छ । उनले भने ‘निकुञ्ज क्षेत्रको भूभाग मध्ये १० प्रतिशत क्षेत्रफलमा घाँसे मैदान बनाउनु पर्ने प्रावधान रहेपनि बजेट अभावमा बनाउन सकेका छैनौं, हामीसँग रहेको घाँसे मैदान ०.९ प्रतिशत मात्र हो ।’ यस्तै ८२ वटा कृत्रिम पोखरी निर्माण गरिएता पनि १६ वटा मात्र सोलार जडित पोखरी सञ्चालित अवस्थामा रहेका छन् । अन्य पोखरीहरु बर्षाको समयमा पानी भरिने र खडेरीमा सुक्खा रहने गरेका छन् ।
अन्तत्र्रिmया कार्यक्रम अघि क्रियाशिल पत्रकार महिला बाँकेको टोलीले निकुञ्जमा सफारी गरेको थियो । विहान घाम चर्किसकेको समयमा सफारीमा गएकाले पाटे बाघ अवलोकन गर्न नपाए पनि लोपोन्मुख वन्यजन्तु चौका निकुञ्जको विभिन्न स्थानमा ४ वटा देखिएको र चित्तल, जरायोको बथान धेरै संख्यामा देख्न पाइएको क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीले बताइन् ।